पोखरा महोत्सव सकियो

पोखरा ।
पुस २५ बाट सुरु भएका् १३ औं पोखरा महोत्सव सोमबार सकिएको छ । युनाइटेड क्लबले आयोजना गरेको महोत्सव पोखरा महानगरका मेयर धनराज आचार्यले समापन गरे ।
मेयर आचार्यले पोखरा २७ अर्चलेमा क्लबले निर्माण गर्न लागेको छात्राबास निर्माणका लागि महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले भाषा, कला संस्कृतिको उजागर र जगेर्ना गर्ने काम गरेको भन्दै धन्यवाद दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले आर्थिक क्रियाकलापसँगै महोत्सवले मौलिकता र ऐतिहासिकतालाई झल्काएको बताए । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लबले महोत्सवको करसमेत तिर्दै आएको स्मरण गरे । कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले अरु संघ, संस्थाले युनाइटेड क्लबको सिको गर्नुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा समाज कल्याण परिषदका उपाध्यक्ष परमेश्वर कार्की, अमरसिंह माविका प्रध्यानाध्यापक शेरबहादुर थापा, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार लगायतले बोलेका थिए ।
सोमबार चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका छन् । साँझको लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुति रह्यो ।
पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिताको उपाधि वेसलाइन बोर्डिङ स्कुलले हात पारेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा भएको प्रतियोगितामा १३ टिमलाई पछाडि पार्दै बेसलाइनले उपाधिसँगै नगद ४५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
सरस्वती आदर्श विद्याश्रमले दोस्रो बनेर नगद ३० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाउँदा विभूती शिक्षा सदनले तेस्रो भएर नगद २० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कास्की मोडनाइज्ड र सेन्ट म्यारिज बोर्डिङ स्कुलले शान्त्वना स्थानसहित नगद १० हजार, प्रमाणपत्र प्राप्त गरे ।
महोत्सवमा आयोजित खुला बुद्धिचाल प्रतियोगिताको उपाधि सागर साईले जितेका छन् ।साइले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । महेश्वर अधिकारी दोस्रो हुँदै नगद ७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बुद्धिराज शर्माले तृतीय स्थानसहित नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगितामा निशान पौडेलले शान्त्वना स्थानसहित नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा दशौं स्थानभित्र पर्न सफल भीमप्रसाद भट्टराई, हुमराज गुरुङ, सुजन रानाभाट, रञ्जन कुँवर, गोविन्द बराल र एन्जल शाही ठकुरीले जनही नगद २ हजार, मेडल र प्रमाणपत्र पाए ।
टिकटक प्रतियोगिताको उपाधि गोले लामाले जितेका छन् । लामाले नगद ५० हजार र प्रमाणपत्र पाएका छन् ।
तपाईको प्रतिक्रिया