क्षेत्री समाज परिसरमा दुर्गा मन्दिर

समाधान संवाददाता २०८१ माघ ८ गते १३:४७

पोखरा ।
क्षेत्री समाज नेपालको भवन परिसरमा निर्माण भएको दुर्गा मन्दिर निर्माण गरिएको छ । मन्दिरमा दुर्गासहित पञ्चांग देवताका मूर्तिको प्राण प्रतिष्ठा आइतबार गरिएको हो । करिब ३५ लाख लागतमा निर्मित मन्दिर क्षेत्री समाजका केन्द्रीय अध्यक्ष रीबबहादुर थापाले उद्घाटन गरे ।

Advertisement


थापाले समाजलाई गतिशील बनाउन र देशभरका क्षेत्रीलाई एकाकार बनाउन लागिपरेको बताए । आफूहरुका मुद्दा र मागका बारेमा राज्य मौन रहेको भन्दै उनले राज्यले क्षेत्रीलाई विभेद भएको आरोप लगाए ।


अध्यक्ष थापाले देशभरका जिल्लामा जागरण सँगसँगै दर्जन देशमा शाखा विस्तारको योजनामा रहेको सुनाए । छिट्टै नेपालसहित ११ देशको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने सोच रहेको भन्दै हाल छ वटा देशमा समाजका शाखा रहेको उनले जनाए ।


समाजका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले समाजलाई अब्बल बनाउन लागिपरेको र यसका लागि महानगर, जिल्ला तथा प्रदेश कमिटी चलायमान हुन जरुरी भएको बताए । उनले आगामी जेठसम्ममा सबै जिल्लामा सांगठानिक अभियानमा जोडिने र जेठ मसान्तसम्म अभियान सञ्चालन गर्ने उल्लेख गरे ।


क्षेत्री समाज नेपाल गण्डकीका वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारीले २०७८ सालको घटस्थापनाको दिनमा शिलान्यास गरिएको मन्दिरको निर्माणले अझ सामाजिकीकरण, धार्मिक तथा सांस्कृतिक एकताका लागि उदाहरण बनेको बताइन् ।

Advertisement


क्षत्री समाज नेपाल कास्की उपाध्यक्ष अर्चना बस्नेतले पूर्वअध्यक्ष पदमबहादुर कार्कीको परिकल्पनालाई साकार पार्नुपर्ने बताइन् । मन्दिर निर्माणमा केन्द्रीय अध्यक्ष थापाले ६ लाख ५८ हजार रुपैयाँ सहयोग गरेका छन् । क्षेत्री समाज नेपाल कास्की अध्यक्ष दिलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष सन्दीप थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया