गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु, विनोदबिन्दुलाई तालिम केन्द्र

समाधान संवाददाता २०८१ माघ ८ गते १४:४०

पोखरा । गण्डकी प्रदेशको स्वास्थ्य सचिव फेरिएका छन् । नयाँ सचिवमा डा. विश्वबन्धु बगालेको पदस्थापन भएसँगै स्वास्थ्य सचिव रहेका डा. विनोदविन्दु शर्मा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा गएका छन् । सचिव बगालेले सोमबारबाट कार्यभार सम्हालेका छन् ।

Advertisement

डा. बगाले यसअघि पनि गण्डकीकै स्वास्थ्य सचिव थिए । डा. श्रीराम तिवारीको सरुवा भएपछि २०७९ असोज ५ मा डा. बगाले गण्डकीमा हाजिर भएका थिए । तर उनी ३ महिना पूरै काम नगर्दै अध्ययन बिदामा बसेका थिए । उनको दरबन्दी गण्डकी प्रदेशमै थियो । अहिले अध्ययन बिदा सकेर उनी फर्किएपछि उनी पहिलेकै मन्त्रालयमा पदस्थापन भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई स्वास्थ्यमा पदस्थापन गर्ने निर्णय गरको हो ।

त्यसो त गण्डकीमा डा.श्रीराम तिवारी आउनुअघि २०७८ माघसम्म डा. विनोदविन्दु शर्मा नै सचिव थिए । तत्कालीन स्वास्थ्य मन्त्री मधुमाया अधिकारीसँग काम गर्दा लय पनि नमिलेपछि विनोदबिन्दुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको थियो । झण्डै १ वर्षसम्म जिम्मेवारीविहीन रहेका विनोदबिन्दुले विश्वबन्धु अध्ययन बिदामा बसेपछि स्वास्थ्यमै फर्कने मौका पाएका थिए ।

अहिलेका स्वास्थ्य मन्त्री कृष्ण पाठकसँग समेत बिनोदबिन्दुको लय नमिलेपछि उनलाई तालिम केन्द्रमा धकेलिएको मन्त्रालयस्रोतले बताएको छ । मन्त्रालय स्रोत भन्छ, ‘मन्त्रीज्यू परिणाम देखिने गरी र विगतका कमजोरी सच्याउने गरी काम गर्न चाहान्छन्, सचिव बिनोदविन्दु भने मिठा कुरा गर्ने र कार्यसम्पादनमा अग्रसर हुनै नखोज्ने स्वभावको भएर कुरा मिलेन ।’ मन्त्रीले चाहेको भए बगालेलाई संघीय मन्त्रालयमै रोक्न सकिने अवस्था थियो ।

Advertisement

तपाईको प्रतिक्रिया