टाइगर कममा पहिलोपटक आयोजकको आफ्नै टिम

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजकले पहिलोपटक टोली सहभागी बनाउँदै छ । पाँचौं संस्करणमा आइपुग्दा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोलीले सहभागी बनाउन लागेको हो ।
आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । अरुणा नेपाली भबिलककै सर्वाधिक सफल कप्तान हुन् । दशकदेखि राष्ट्रिय टोलीमा रहेकी अरुणाले सन् २०१९ देखि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएकी छन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् ।
उनले गत असोजमा भएको एभरेष्ट महिला भलिबल लिगमा चितवन शक्तिको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । उनकै प्रशिक्षणमा एभरेस्ट भलिबल क्लबले पहिलो पटक एनभिए महिला भलिबलको उपाधि जितेको थियो ।
प्रशिक्षक घिमिरेले टोलीमा तीन विदेशी खेलाडी अनुबन्ध गरेका छन् । अनुबन्ध हुनेमा थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात छन् । अम्फा मिडल ब्लकर हुन् भने जान्तिमा र नान्तिकान आउट साइड हिटर हुन् ।
तीनै जना खेलाडी थाइल्यान्डमा जारी लिग खेलेका टोलीका खेलाडी रहेको टोलीका प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए । ‘उहाँहरु थाइल्यान्डको लिग खेलेका टिमका खेलाडी हुनुहुन्छ । लिगको टप ८ बाट बाहिरिएको टोलीका सदस्य हुनुहुन्छ । उहाँहरुको खेल हेरेको राम्रै छ,’ उनले भने ।
टोलीमा ३ विदेशीसहित राष्ट्रिय यु–२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यु २० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरिएको प्रशिक्षक घिमिरेले बताए ।
प्रशिक्षक घिमिरेका अनुसार विदेशी खेलाडीसँगै टोलीको प्रशिक्षण गर्न एक दिनमात्रै हुनेछ । ‘उहाँहरुसँगै टेनिङ गर्न एक दिनमात्रै हुने हो । इन्डिभिजन सबै राम्रो छ । टिम कम्बिनेसनको डर हो,’ उनले भने, ‘कसरी हुन्छ विजयी हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । टिम कम्बिनेसन मिल्यो भने उपाधि जित्छौं ।’
व्यक्तिगत रुपमा अहिले पनि खेलाडीले टेनिङ गरिरहेको प्रशिक्षक घिमिरले बताए । माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित १ विदेशी गरी ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोली पनि विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । पुरुषतर्फ पनि एक विदेशीसहित ६ टोली सहभागी भएका छन् ।
प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया