मानवअधिकार एलाइन्समा डा बुद्धिबहादुर थापा

समाधान संवाददाता २०८१ माघ ८ गते २०:०४

पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) गण्डकी प्रदेश समितिको दोस्रो गण्डकी प्रदेश अधिवेशन तथा मानव अधिकार रक्षकहरुको दोस्रो गण्डकी प्रदेश सम्मेलन मंगलबार भएको छ । ‘सामाजिक र आर्थिक रुपमान्तरणका लागि मानव अधिकारको सुनिश्चितताः सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ भएको अधिवेशनले डा बुद्धिबहादुर थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement

उपाध्यक्षमा सरस्वती सिग्देल, सचिव अमृतप्रसाद सुवेदी, उपसचिव फूलमाया राना र ईश्वरबहादुर महतरा र कोषाध्यक्ष गीता पौडेल छन् । कार्यसमितिका सदस्यमा हर्क कार्की र ज्योति सुवेदी छन् । अधिवेशनको सन्दर्भमा गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशसँगको सहकार्यमा असमानता विरुद्धको विश्वव्यापी अभियान अन्तर्गत पोखराको सभागृहचोकदेखि सिर्जनाचोक हुँदै जिरोकिमीसम्म सचेतनामूलक र्‍याली निकालिएको छ ।

मानवअधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले देश भरको ५० हजार सामुदायिक संस्थासम्म एलाइन्स पुग्ने योजना सुनाए । उनले १ हजार ४ सयभन्दा बढी सदस्य संस्था रहेको एलायन्सले पालिका, वडा र टोल समितिसम्म संगठन विस्तार गर्ने बताए । ‘पालिका वडा तथा टोलस्तरका युवा क्लब, आमा समूह र टोल विकास संस्थालाई एलाइन्समा जोड्ने योजना बनाएको छ,’ अध्यक्ष शाहीले भने, ‘टोल तथा वडा तहका रक्षक तथा अभियन्तालाई एलाइन्सले संस्थागत रुपमा समेटेर संगठन बलियो बनाउन लागेको छ ।’

Advertisement

उनले संस्था सबै प्रकारको समुदायमा पुग्ने जानकारी दिए । मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा रुपान्तरण गर्न सामाजिक संघ, संस्थाको भूमिका रहेको दाबी गर्दै उनले सामाजिक संस्थालाई बलियो बनाउन संगठन लागेको जानकारी दिए ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य विष्णु रिजालले मानव अधिकारको सम्मान र सामाजिक न्यायको प्रत्याभूति दिलाउन आर्थिक रुपमा मुलुक समुन्नत बन्नुपर्ने बताए । उनले संविधानमा भएको व्यवस्था अनुसार समाजवादको बाटोमा मुलुकलाई अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

गैसस महासंघ नेपाल अध्यक्ष रामप्रसाद सुवेदीले शक्तिशाली राष्ट्रले गरेको स्रोत र साधनको दुरुपयोगलाई रोक्न नागरिक संगठनले विश्वव्यापी अभियान चलाएको जानकारी दिए । १० प्रतिशत धनीले ९० प्रतिशत स्रोतमा राज गरेको आरोप लगाउँदै उनले प्राकृतिक स्रोत र साधनमा सबैको समान पहुँच हुनुपर्ने माग गरे ।

Advertisement

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले राजनीतिक स्तरबाट सुधारबाट सबै खालको विभेदको अन्त्य गर्न सकिने बताए । मानव अधिकार एलाइन्स गण्डकी अध्यक्ष शिवराज शर्मा सुवेदीले गण्डकीका ८५ पालिका मध्ये २५ पालिकामा एलाइन्सको संरचना निर्माण गरेको जानकारी दिए । उनले प्रदेशमा १४ हजार सामुदायिक संस्थामा एलाइन्स पुग्नुपर्नेमा अहिलेसम्म ५ सय संस्थालाई समेटेको दाबी गरे ।

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य मिमबहादुर विश्वकर्मा, एलाइन्सका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र पौडेल, केन्द्रीय सदस्य अनन्तकुमार श्रेष्ठ, गैसस महासंघ नेपाल गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष पदमराज पहारी, एड्भोकेसी फोरम पोखरा संयोजक कुञ्जनी परियार प्यासी, राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका सचिव कृष्ण अधिकारी, यौनिक तथा लैंगिक अल्पसंख्यक रजनी थकाली, मानव अधिकार एलाइन्स गण्डकीका सचिव तीर्थराज खनाल, कास्की अध्यक्ष मधु पन्थी लगायतले मानव अधिकार तथा सामाजिक न्यायको पक्षमा एलाइन्सले खेलेको भूमिकाबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया