पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै

पोखरा । पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ। समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरूको लागि निकास भन्ने मूल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ। महोत्सव आगामी फाल्गुन ९ गतेदेखि १५ गतेसम्म चल्नेछ। यसअघि पुम्दिकोटमा वि.स. २०७३ र २०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन्।
पर्यटकीय राजधानी पोखरा आउने पर्यटकको बसाई एक दिन लम्ब्याउने उद्देश्य अनुरूप, महोत्सवमा साझको समयमा विशाल शिवको मूर्तिलाई पर्दा बनाइ लेजर लाइटमार्फत शिवलिला प्रदर्शन गर्ने योजना बनाइएको छ। साथै, कैलाश पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँच विस्तार गर्न सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा इको साउन्ड नियन्त्रण गर्ने जस्ता रणनैतिक लक्ष्य महोत्सवले राखेको छ। यस बाहेक, समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाई आध्यात्मिक जागरणमार्फत शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा पुम्दिकोट बनाउने मूल उद्देश्य रहेको छ।
महोत्सवमा दैनिक कथा वाचिका राधिका दासीबाट भागवतमञ्जरी वाचन हुनेछ। महोत्सव अन्तर्गत फागुन ९ गते कलशयात्रा, पूर्वाङ्ग पूजा तथा आरम्भ गरिने छ। नियमित दैनिक कार्यक्रमहरूमा बिहान ७ देखि १० बजेसम्म नित्य पूजा, पाठ पारायण र जप, बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म भागवतमञ्जरी, हरेक दिन बेलुका ५ बजे महाआरती, साझ साढे ६ बजेदेखि ९ बजेसम्म महात्म्य तथा सांस्कृतिक झाँकी, फागुन १४ गते साझ लाखबत्ती प्रज्वलन गरिनेछ भने १५ गते अपराह्न साढे ४ बजे हवन, पूर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण लगायतका कार्यक्रम हुनेछ।
महोत्सवमा दान गर्ने दाताहरूलाई दान रकमको आधारमा विगतका महायज्ञ सरह सम्मान गरिनेछ। यसैबीच, पुम्दिकोट धार्मिक महोत्सवका लागि ११९० मुल आयोजक समिति गठन गरिएको छ। पुम्दिकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा महोत्सव मुल आयोजक समिति गठन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले पालिकाको यो वडाभित्र पर्ने धार्मिक संरचना र कार्यक्रमको लागि आफूले पालिकाले लिनुपर्ने सबै जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन्। उनले यो धार्मिक संरचनालाई अझै बृहत् र आकर्षक बनाउनुपर्ने आवश्यकता रहेको र त्यसको पहलकदमी आफूले लिने प्रतिबद्धता व्यक्त गरे।
मुल आयोजक समितिका अध्यक्ष चन्द्रकान्त बरालले हाम्रा पूर्वजहरूले बनाएका सिहदरबार जस्तै संरचना हाम्रो पालामा पनि बन्न जरुरी रहेको बताए। गण्डकी प्रदेश सांसद प्रकाश बरालले पशुपतिनाथ पछि सबैभन्दा धेरै पर्यटक आउने यो धार्मिक स्थलमा पर्यटकीय आतिथ्यतामा विशेष ध्यान दिन जरुरी रहेको बताए। पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले पुम्दिकोट जाने बाटो एकतर्फी बनाउनुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा पूर्व वडा अध्यक्ष मित्रलाल बराल, कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको संचालन समितिका सल्लाहकार मातृकाप्रसाद बरालले गरेका थिए।
तपाईको प्रतिक्रिया