३ बुँदे सहमतिपछि पोखरा महानगरको ताला खुल्यो, नगरसभा ११ गते बस्ने

समाधान संवाददाता २०८१ माघ ९ गते १०:१६

पोखरा– पोखरा महानगरपालिकामा लामो समयदेखि जारी ताला खोल्ने सहमति भएको छ। नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूबीच पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा भएको छलफलपछि ताला खोल्ने सहमति जुटेको हो। सहमतिअनुसार महानगरको १६ औं नगरसभा यही माघ २६ गते (शुक्रबार) दिउँसो १ बजे बस्ने तय गरिएको छ।

Advertisement

यस सहमतिपछि महानगरका विभिन्न कार्यालय तथा विकास निर्माणका अवरुद्ध कार्य पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ। छलफलमा ३ बुँदे सहमति बनेको छ, जसमा नगरसभा आह्वान, विकास कार्यको पुनः सुरुआत, र सुशासन तथा समृद्धिका लागि एकताबद्ध प्रयासको प्रतिबद्धता उल्लेख गरिएको छ।

३ बुँदे सहमतिको मुख्य बुँदाहरू:१६ औं नगरसभा माघ ११ गते बस्ने: महानगरको चालु १६ औं नगरसभा यही २०८१ माघ ११ गते (शुक्रबार) दिउँसो १ बजे बस्ने सहमति भएको छ।

विकास कार्य पुनः सुचारु हुने: खर्च शीर्षकमा स्थानान्तरण हुन नसक्दा ठप्प भएका पूर्वाधार विकास तथा अन्य कार्यहरू नगरसभाबाट आवश्यक निर्णय गरी अगाडि बढाइने छ।

पहिलाको सहमति अक्षरशः पालना: २०८१ मंसिर २३ गते बसेको विशेष नगरसभामा पारित ७ बुँदे सहमतिको पूर्ण पालना गरिनेछ। साथै, महानगरको सुशासन र समृद्धिका लागि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया