बागलुङ र तनहुँका २५ हजार किशोरीलाई एचपिभी खोप लगाइने

समाधान संवाददाता २०८१ माघ ९ गते १२:४४

गलकोट ।

Advertisement

यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपिभी लगाइने छ ।


माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाइनेछ । पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाइने छ । खोप लगाउन तीन सय १५ स्वास्थ्यकर्मी, छ सय २६ जना स्वयंसेविका परिचालन गरिएको छभने तीन सय १२ खोप केन्द्र निर्धारण गरिएको छ ।

स्त्रीरोग विशेषज्ञ विजय ओझाका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताए । ओझाले शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको बताए ।

Advertisement
 तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै    

जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।

एचपिभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिने छभने दोस्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सय गरी १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाइनेछ । भानु नगरपालिकाका एक हजार चार सय ९५, व्यास नगरपालिकाका तीन हजार आठ सय ५५, देवघाट गाउँपालिकाका छ सय ५७, बन्दीपुर गाउँपालिकाका नौ सय ३९, आँबुखैरेनी गाउँपालिकाका एक हजार दुई सय ३६, म्याग्दे गाउँपालिकाका सात सय ६६, शुक्लागण्डकी नगरपालिकाका दुई हजार सात सय छ, भिमाद नगरपालिकाका एक हजार दुई सय ७७, घिरिङ गाउँपालिकाका पाँच सय ८० र ऋषिङ गाउँपालिकाका सात सय ८७ जनामा खोप लगाइनेछ ।

हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप प्रदान गरिनेछ । विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट एचपिभी खोप अभियान सञ्चालन गरिने अधिकारीले बताए ।

करिब नौ वर्ष अगाडि चितवन र कास्कीमा एचपिभी खोप सेवा सञ्चालन गरिएको थियो । त्यसबेला कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर एचपिभी खोप छ महिनाको फरकमा दुई मात्रामा दिइएको थियो ।

तपाईको प्रतिक्रिया