अन्तर्राष्ट्रिय सफल म्याराथन फागुन ३ गते

म्याराथन प्रथम विजेतालाई ५ लाख

समाधान संवाददाता २०८१ माघ १० गते १०:४०

पोखरा ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२५ यही फागुन ३ गते पोखरामा हुने भएको छ । म्याराथनलाई भव्य बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले नेपालमा २३ उपसमिति र विदेशमा ६ अन्तर्राष्ट्रिय समिति बनाएको छ ।

Advertisement


१९ औँ संस्करणको म्याराथनमा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिने छन् । यसपालिको दौडको सुरुवात पोखरा रंगशालाबाट हुनेछ भने समापन भने पोखरा ६ हल्लन चोकमा हुने तय छ । सफल म्याराथनको नारा ‘स्वास्थ्यको लागि, पोखराको लागि’ रहेको छ ।


यो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको छ । यसपालि म्याराथनलाई विशेष बनाउन मुख्य म्याराथनमा सहभागीलाई चिप्सको प्रयोग गरिने भएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।


म्याराथन प्रथम विजेतालाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख, चौथोलाई ५० हजार, पाँचौँ लाई ३० हजार, छैटौँलाई २० हजार, सातौँलाई १५ हजार र आठौँ हुनेलाई १० हजार प्रदान गरिनेछ । गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था छ । महिला तथा पुरुष हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्र, छात्रा, भेट्रान (५० वर्षमाथि), ह्विलचियर तथा दृष्टिविहीन तर्फ पनि पुरस्कार राखिएको छ ।


प्रतियोगितामा रन फर फन नामक श्रेणीमा सबै उमेर समूहका सहभागीले आफ्नो क्षमता अनुसार रमाइलो र उत्साहपूर्वक दौडिन सक्ने छन् ।

Advertisement


म्याराथनमा पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रालिको सफल दूधको मुख्य प्रायोजन छ । शारीरिक तन्दुरुस्ती र पौस्टिकतासँग सम्बन्ध राख्ने सफल दूधले पोखरा वासीको स्वास्थ्य र खेलको सम्बन्धलाई प्रगाढ बनाउने यसमा सघाएको हो । एक दशकदेखि लगातार प्रायोजन गर्दै आएको सफल दूधले उपभक्ताको स्वास्थ्य प्रतिको विश्वासलाई कायम गर्दै आएको कम्पनीले जनएको छ ।

तपाईको प्रतिक्रिया