सराङकोटमा महायज्ञ तयारी
पोखरा ।
धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटलाई धामका रुपमा विकास गरी यस पटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ । फागुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिको अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।
सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजनामार्फत विशाल शिवमन्दिर, भ्युटावर, १०८ शिव लिंग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवन निर्माण गरिएको र सोही दिन उद्घाटन गरिने कार्यक्रम रहेको अध्यक्ष जिसीले बताए ।
धार्मिक आस्थाको साथसाथै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्य यस महोत्सवले बोकेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए ।
महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीको ध्यान तान्नेमात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने छ । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले बताए ।
यो महायज्ञले धार्मिकता र पर्यटनको सम्मिश्रण गर्दै सराङकोटलाई अझ बढी लोकप्रिय बनाउने अपेक्षा गरिएको पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बताए । यो महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुर्याउनेछ ।
धार्मिक र पर्यटकको आगमनले स्थानिय अर्थतन्त्रमा सकारात्मक प्रभावका लागि स्थापित अन्नपूर्ण केबुलकारमार्फत निर्माण अन्तिम तयारीमा रहेको नेपालकै पहिलो पञ्चमुखी गणेश मुर्तिले पोखरामा धार्मिक पर्यटकको आगमन बढ्ने केबुलकारका अध्यक्ष कालु गुरुङले बताए ।
धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्वलाई आत्मसाथ गर्दै फागुन १४ देखि २१ सम्म सम्पन्न हुने धार्मिक पर्यटन महोत्सव गर्नका लागि १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति र ११ विभिन्न समिति गठन गरिएको प्रचारप्रसार संयोजक कृष्ण थापाले बताए ।
तपाईको प्रतिक्रिया