दुग्धजन्य सहकारीलाई तालिम

समाधान संवाददाता २०८१ माघ १० गते ११:५४

पोखरा ।
सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लि, कास्कीको समन्वयमा माघ ४ गतेदेखि ६ गतेसम्म दुग्धजन्य सहकारी संस्थाहरूलाई व्यवस्थापन तालिम कार्यक्रम भएको छ ।

Advertisement


तालिम कार्यक्रममा सहकारी सिद्धान्त, मूल्य मान्यता, कानुन तथा व्यवहारगत रुपमा सुधार गर्नुपर्ने पक्षहरु, सहकारी कोष व्यवस्थापन, ऋण लगानी र असुली प्रक्रिया, सहकारी संघ संस्थाका सञ्चालकलगायतका पदाधिकारीहरुको भूमिका आदि सहकारी व्यवस्थापनका विषयवस्तुका साथै दुग्ध पदार्थका विभिन्न परिकार बनाउने प्रयोगात्मक अभ्यास गरी सो सम्बन्धी सीपसमेत सिकाइएको थियो ।


सो तालिम कार्यक्रममा विभिन्न दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालकका साथै कृषकसमेत गरी ४० जना सहभागी रहेका थिए । दुग्ध पदार्थका विभिन्न परिकार बनाउने प्रयोगात्मक अभ्यासमा बर्फी, पेडा, पुष्टकारी र गुदपाक बनाउने कार्यमा सहभागीहरु स्वयं खटिएका थिए । पनिर बनाउने विधिका बारेमा समेत चर्चा गरिएको थियो ।


उक्त कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल, दुग्धजन्य परिकार विज्ञ सरिता खत्री र अधिकृत छैटौँ तुलसीप्रसाद पौडेलले कार्यपत्र प्रस्तुति एवं सहजीकरण गरेका थिए । तालिम कार्यक्रममा सहभागीहरूले दुग्धजन्य सहकारी संस्थाहरूलाई प्रवद्र्धन गरिनुपर्ने, दुग्ध उत्पादन–वितरण, कृषि उत्पादन, दुग्ध पदार्थ बिक्री वितरण नहुँदा दुग्धजन्य परिकार बनाई बिक्री वितरण गर्ने उपायका सम्बन्धमा जिज्ञासा, सुझावसहित आ–आफ्ना विचार राखेका थिए ।


उक्त तालिम कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका, वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ गौतमले सहकारी भनेको ऐँचो–पैँचो, अर्म–पर्म र परेली प्रथाकै परिष्कृत रुप हो भन्दै दूधजस्तो पवित्र खाद्यवस्तु उत्पादन कार्यमा लागेका कृषकहरूको उत्थान हुनेगरी कार्य गर्न सम्बन्धित निकाय लाग्नुपर्ने कुरामा जोड दिए ।

Advertisement


सो कार्यक्रमको अध्यक्षता गरेका सहकारी रजिष्ट्रार भेषराज रिजालले उत्पादनमूलक कार्यमा जोडिएका सहकारी संस्थाको प्रवद्र्धन गर्ने ध्येयले यस तालिमको आयोजना गरिएको बताउँदै तालिमपश्चात् सहकारीहरुको व्यवस्थापकीय कार्यमा समेत प्रभावकारिता बढ्ने विश्वास लिएको बताए ।


अतिथि नवराज बरालले दूधको उत्पादन लागत घटाउन दाना चोकर, औषधि जस्ता विषयमा समेत ध्यान दिनुपर्ने एवं उत्पादित दुग्धजन्य वस्तु बिक्री वितरण, बजार पहुँच र कृषक उत्थानमा ध्यान दिनुपर्ने धारणा राखे । सो अवसरमा सहभागीका तर्फबाट बोल्दै पार्वती भण्डारी पौडेल र खिमनारायण अधिकारीले सिकेका ज्ञान र सीप व्यवहारमा समेत लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया