सिकाइमा त्रिकोणात्मक सम्बन्ध

शिक्षण व्यक्तिलाई ज्ञान तथा सीप हस्तान्तरण गर्ने माध्यम हो भने हस्तान्तरण गरिएको ज्ञान र सीप व्यक्तिको दैनिक जीवनमा प्रयोग भई व्यक्तिको व्यवहारमा सकरात्मक परिवर्तन देखिनु नै सिकाइ हो । शिक्षण सिकाइ प्रक्रियालाई मजबुत बनाउन शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपूर्ण मानिन्छ । साथै यसबाट शैक्षिक गुणस्तरमा सुधार आउँछ ।
शिक्षकको भूमिका
विद्यार्थीको शैक्षिक र व्यक्तिगत विकासमा शिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । शिक्षकले विद्यार्थीलाई केवल पाठ्यपुस्तक पढाउनेमात्र होइन कि पाठ्यपुस्तक सँगसँगै व्यवहारिक सीप सिकाउनु पर्दछ । जीवनका मूल्य, मान्यताका बारेमा जानकारी दिँदै नैतिक शिक्षा दिनु पनि नितान्त आवश्यक छ ।
शिक्षकले कक्षामा एक सकारात्मक र सहयोगी वातावरण सिर्जना गर्नुपर्छ, जसले विद्यार्थीलाई सिकाइमा मद्दत पुर्याउँछ ।
शिक्षकले विद्यार्थीलाई पढाइप्रति रुचि जगाउन शिक्षण क्रियाकलापमा विविधता ल्याउनु पर्छ ।
विद्यार्थीको पारिवारिक पृष्ठभूमि तथा उनीहरुको उमेर, रुचि, संवेग तथा स्तर अनुकूलको सिकाइमा जोड दिनु आवश्यक छ ।
कक्षाकोठामा गरेर सिक्ने वातावरण सिर्जना गर्नुपर्दछ ।
विद्यार्थीलाई डर, त्रासले होइन कि मायालु वातावरण सिर्जना गरी शिक्षा दिनु पर्दछ ।
कक्षा सहभागिता, रुचिपूर्णता अभ्यास तथा पुनरावृति आदि सिद्धान्तका आधारमा शिक्षा दिनुपर्छ ।
विधार्थीको भूमिका
शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षकमात्र सक्रिय भएर पुग्दैन । यसमा विद्यार्थीहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
आफूमा भएको जिज्ञासा तथा समस्यालाई शिक्षक तथा अभिभावक सँग व्यक्त गर्नुपर्छ ।
विद्यार्थी जिज्ञासु, विवेकी र सिक्नतर्फ उत्प्रेरित हुनुपर्छ ।
आफ्नो पढाइप्रति ध्यान दिनुपर्छ ।
नियमित रुपमा अध्ययन गर्ने बानी गर्नुपर्छ ।
अध्ययनमा स्वः प्रेरित हुनुपर्छ ।
अनुशासनमा रहनु पर्छ ।
विद्यालयका अतिरिक्त क्रियाकलापहरुमा भाग लिनु पर्छ ।
सकारात्मक सोचका साथ शिक्षक र अभिभावकको आज्ञापालन गर्नुपर्छ ।
शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक भूमिका हुन्छ
अभिभावकको भूमिका
आफ्ना अमूल्य निधि छोराछोरीलाई अभिभावकले आफ्नो व्यस्तताका बाबजुत हरहालतमा समय दिनु नै पर्छ । विद्यार्थीको सम्पूर्ण जिम्मेवारी शिक्षक र विद्यालयको मात्र हो भन्ने भ्रममा पर्नु हुँदैन । यसैले अभिभावकले आफ्ना बाबुनानीहरुको आचरण, आनीबानी नजिकबाट निगरानी गर्नुपर्छ ।
आफ्ना बालबालिकालाई मानसिक र भावनात्मक समर्थन दिनु पर्छ ।
बालबालिकाको पढाइप्रति ध्यान दिनु पर्छ ।
घरमा पढ्ने वातावरण मिलाइदिनु पर्छ र समय व्यवस्थापनप्रति सचेत गराउनु पर्छ ।
अभिभावकले शिक्षक र विद्यालयसँग समन्वय गरी आफ्ना बालबालिकाको बारेमा जानकारी लिनुपर्छ ।
निरन्तर रुपमा कक्षा शिक्षकको सम्पर्कमा रही आफ्ना बालबालिको गतिविधिमा चासो राख्नु पर्छ ।
विद्यालयका गतिविधिमा सक्रिय रुपमा संलग्न हुनु पर्छ ।
अभिभावक, शिक्षक र विद्यार्थीको सक्रिय समन्वय र साझेदारीले विद्मार्थीको सामाजिक बौद्धिक र भावनात्मक विकासमा सहयोग पुर्याउँछ । शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध सुमधुर रहन्छ । विद्यार्थीको शैक्षिक नतिजा सुधार हुँदै जान्छ । विद्यार्थीका हरेक प्रकारका समस्यको समाधान शिक्षक र अभिभावक मिलेर गर्न सकिन्छ । कालान्तरमा यसले विद्यार्थीलाई तनावमुक्त र आत्मविश्वासी बनाउँछ । अध्ययनहरुले के देखाउँछन् भने निरन्तर रुपमा विद्यालय र शिक्षकहरुको सम्पर्कमा रहनुहुने अभिभावकका बाबुनानीले नै कालान्तरमा चौतर्फी विकास गर्छन् ।
बराल विभूति शिक्षा सदन रामबजारकी शिक्षक हुन् ।
तपाईको प्रतिक्रिया