मिस तामाङको फिनाले भाेली

समाधान संवाददाता २०८१ माघ ११ गते १७:०२

पोखरा ।
मिस तामाङ पोखराको ग्रान्ड फिनाले शनिबार हुने भएकाे छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा हुने नवौं संस्करणको मिस तामाङ पोखराको तयारी सकिएको छ । प्रतियोगिता पोखरा सभागृह हलमा दिउँसो १२ बजे सुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले बताए ।

Advertisement


प्रतियोगितामा ११ तामाङ समुदायका युवतीको सहभागिता छ । सहभागीमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पूर्णिमा थिङ तामाङ, सुनिता तामाङ, सिसा लामा, सुप्रिया गोले तामाङ, पूर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ छन् ।


कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु पाउने बताइन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार र सेकेन्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्ने छन् ।


भ्युवर्स च्वाइसका रुपमा १ जनाले नगद २० हजार पुरस्कारसमेत प्राप्त गर्ने छन् । कार्यक्रमको मुल संयोजकमा पूर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ र सहसंयोजक रोशिला तामाङ छन् । प्रतियोगिताको प्रमुख निर्णायकमा चलचित्र निर्देशक तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान र गीतकार तीर्थ तामाङ रहनेछन् भने चर्चित कलाकार विशाल काल्तान, राजेन्द्र नेपाली लगायतको प्रस्तुति रहनेछ ।


कार्यक्रमबाट भएको बचत पेमा धेछेन्लिङ तामाङ शान्ति गुम्बामा खर्च गरिने आयोजकले जनाएको छ । सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रमका सहभागीलाई विभिन्न विषयमा तालिम दिइएको छ ।

Advertisement

तालिममा पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सन्जय मल्ल, नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, भाषाविद अमृत योञ्जन, पूर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिस्टार विमला भण्डारी, वैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ लामा ताम्राकारले सहजीकरण गरेका छन् ।


यसैगरी, अधिवक्ता जुना गुरुङ, गुरु लामा पाल्देन, फिटनेसका बारेमा आभ्या क्लब, तामाङ समुदायका रीतिरिवाजबारे नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, एसके डान्स स्कुलका सञ्चालक राम लामाले नृत्य कला सिकाएका थिए ।


विद्याज डाइटका सञ्चालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ ब्युटी एकेडेमीका सौन्दर्यविद चिनु गुरुङले सौन्दर्यकला, खोजमिडियाका सञ्चालक गणेश ब्लोन लामाले फोटोग्राफी, इलाका प्रहरी कार्यलाय शिशुवाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले साइबर सुरक्षा र नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले लिडरसिप प्रशिक्षण दिएका छन् ।

तपाईको प्रतिक्रिया