पोखरा कलेज अफ म्यानेजमेन्टमा आइडिया प्रतियोगिता

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा शुक्रबार आइडिया कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न प्रतियोगितामा १२ वटा समूहले आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने रिजेन फ्युल्स एण्ड इनर्जी समूहलाई नगद १० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसै गरी डेली बास्केट समूहले दोस्रो स्थान प्राप्त गरी ६ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको कलेजको प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।
प्रतियोगीहरूको योजनाको मूल्यांकन व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी निर्देशक नवराज अधिकारी, मुक्ती इनर्जी तथा हरिलोका संस्थापक प्रकाश आचार्य र पहिरन ट्रेडिङको कार्यकारी निर्देशक लक्ष्मी थापा गिरीले गरेकी थिइन् ।
कलेजको वार्षिक क्यालेन्डर अनुसार नै यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम संयोजक हरि अधिकारीले जानकारी दिए । प्रतियोगिताले उद्यमशीलता विषय अध्ययन गरिसकेका विद्यार्थीहरूमाझ उद्यमी सोच निर्माण गर्न सघाएको उपप्राध्यापक निकेश कर्माचार्यले बताए । कार्यक्रम कलेजको प्राचार्य श्रेष्ठको अध्यक्षता तथा उपप्राध्यापक सुवास मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धित भएर पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढी विद्यार्थीहरू बिबिए, बिबिए फाइनान्स र बिएससीआईटी कार्यक्रमहरूमा अध्ययन गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया