राष्ट्रिय औद्योगिक व्यापार मेलामा हरेक दिन ५ जना दर्शकलाई मोबाइल

पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकहरूमध्ये हरेक दिन ५ जनालाई मोबाइल पुरस्कार दिइने भएको छ ।
मोबाइल वितरक संघ, गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोबाइल एक्सपो अन्तर्गत मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्थासहित एक्सचेन्ज अफर, किस्तामा मोबाइल फोन खरिदको प्याकेज मेलामा रहनेछ । मेलामा जाने दर्शकमध्येबाट हरेक दिन पाँच जनालाई डोर प्राइजको रूपमा पाँचवटा मोबाइल उपलब्ध गराइने भएको मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिएका छन् ।
क्यान कास्कीसँगको सहकार्यमा हुने १२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत सूचना प्रौद्योगिकी क्षेत्रमा आएका नयाँ आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावना सहित सफ्टवेयर निर्माण एवं यसको बजार, आइटीसँग सम्बन्धित खेल र प्रतियोगिता पनि महोत्सवको आकर्षण बन्ने क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले व्यक्त गरे ।
राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोबाइल एक्सपो २०२५ मा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरूको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्युटर र मोबाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ ।
मेलामा हामी गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरूलाई पनि समावेश गर्ने जमर्को गरिरहेका छौँ । मेलालाई सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने गरी आयोजना गरिँदै छ,’ उनले भनेका छन्, ‘लगानीको प्रवद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरूप आयोजना हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अपनाएका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ, सहकार्यको नयाँ अध्याय सुरुवात गर्दै सो क्षेत्रको लगानी गण्डकी प्रदेशमा आकर्षित गरौँ भन्ने पुनित लक्ष्य पनि हामीले राखेका छौँ ।’
संघकी महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य र सम्भावनाबारे चर्चा पनि हुनेछ । प्रचार प्रसार संयोजक तथा संघका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टिफिसियल इंटेलिजेन्स (एआई), उन्नत सीसीटीवी सर्भिलेन्स पनि उपलब्ध हुनेछन् । महोत्सव अन्तरगत माघ ११ मा कलाकारहरू पुरूत्तोम न्यौपाने, घनश्याम रिजाल, कमला गैहे, सविना गुरूङ लगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए भने माघ १२ गते मन्जु पौडेल, श्रीकृष्ण बम मल्ल, पार्वती गुरूङ, सरस्वती लामिछाने, सन्तोष सुवेदी लगायतका कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सवमा सहभागी दर्शकले टिकटसँगै नेपाल टेलिकमको सिमकार्ड निशुल्क पाउने छन् । माघ १० गतेबाट जारी महोत्सव माघ १७ गतेसम्म रहने छ ।
तपाईको प्रतिक्रिया