छिचोलियो सिद्धबाबा सुरुङ

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमबाट सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ शुक्रबार ब्रेक थ्रु गरेका छन् । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १ सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको छ ।
प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमासुरुङमार्गको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम भएकामा स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल माध्यममार्फत उनी सो कार्यक्रममा सरिक बनेका हुन् । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरुङमार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीहरूलाई राहत दिन सो सुरुङमार्ग सफल आयोजना सावित हुने विश्वास व्यक्त गरे ।
ओलीले सो सुरुङमार्गबाट लाभ लिई राजमार्गको सहज आवागमन, सामाजिक एवं आर्थिक सम्बन्ध विस्तार र उत्पादन आदानप्रदान गर्न आग्रह गरे । यसअघि त्रिभुवन राजपथ अन्तर्गतको थानकोट–नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङ युगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्नसक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताए ।
‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशका लागि खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको समयमा हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ देश,’ उनले भने, ‘फाइदा हुने कामकुराहरूमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरू सदैव यसैतर्फ केन्द्रित छन् ।’
कार्यक्रम स्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायत पुगेका थिए ।
तपाईको प्रतिक्रिया