निजी स्कुललाई सामाजिक सुरक्षा कोषमा समेट्न पहल

समाधान संवाददाता २०८१ माघ १३ गते १२:०५

पोखरा ।
श्रम तथा रोजगार कार्यालय पोखराले निजी तथा आवासीय विद्यालयहरुमा श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वनको लागि पहल गर्ने भएको छ । कार्यालयका प्रमुख सुरेशराज ढकालले विद्यालयका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न पहल गर्ने बताए ।

Advertisement


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटी पोखराको तेस्रो अधिवेशनको उद्घाटन समारोहमा उनले सामाजिक सुरक्षाको कार्यान्वयनका लागि सबै विद्यालयलाई पत्राचार गर्ने जानकारी दिए । ‘श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीको रोहबरमा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुले आगामी वैशाख महिनादेखि सुरक्षा कोषमा जाने प्रतिबद्धता जनाएका छन्,’ उनले भने, ‘सबै विद्यालयलाई कर्मचारी तथा श्रमिकलाई कोषमा समेट्न तत्काल चिठी लेखेर पठाउँछु ।’ उनले कार्यालयले पत्राचार गरेपछि कार्यान्वयन गरेको या नगरेको बारेमा जानकारी दिन कर्मचारी तथा श्रमिकलाई आग्रह गरे ।


सामाजिक सुरक्षा कोष पोखरा कार्यालयका प्रमुख रमेश ढुंगेलले राज्यले दिने सहायता मात्र सामाजिक सुरक्षा नभएको बताए । उनले राज्यले न्यूनतम सुविधासम्म दिन नसक्ने अवस्थामा सक्रिय उमेर समूहमा गरेको योगदानबाट फाइदा लिन आग्रह गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीका अध्यक्ष षडानन्द गौतमले सबै कर्मचारी तथा श्रमिकलाई सुरक्षा कोषमा समेट्न सैद्धान्तिक रुपमा सहमत भएको जानकारी दिए । उनले थोरै विद्यार्थी भएका साना विद्यालयको हकमा विवेक प्रयोग गर्नुपर्ने बताए ।

सबै कर्मचारी तथा श्रमिकलाई सुरक्षा कोषमा समेट्न सैद्धान्तिक रुपमा सहमत भएको प्याब्सन अध्यक्ष षडानन्द गौतमको भनाइ


जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले सडकको अवस्था र ट्राफिक जामको कारण स्कुल बसका चालक सचेत बन्नु पर्ने बताइन् । उनले ट्राफिक लाइट जडान भएपछि सवारी सञ्चालनको बारेमा चालक र यात्रु जानकार हुनु पर्ने उल्लेख गरिन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सचिव विष्णुबहादुर पराजुलीले आम मजदुरको सामुहिक प्रयास र एकता विना योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउन नसकिने बताए ।

Advertisement


कार्यक्रममा यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर केसी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहकारी प्रवद्र्धन विभागका सदस्य ईश्वरप्रसाद आचार्य, यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटीका अध्यक्ष रुद्रमान प्रधान लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको बारेमा बोलेका थिए ।


अधिवेशनले अध्यक्ष महेन्द्रराज पराजुलीको नेतृत्वमा १३ सदस्यीय निजी तथा आवासीय विद्यालय महानगर कमिटी गठन गरेको छ । इकाई कमिटीको उपाध्यक्ष भीमबहादुर विक, सचिव सावित्रा ढकाल, सहसचिव विन्दु भुजेल र कोषाध्यक्ष ओम पुन रहेको स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीका सचिव नारायण रिमालले जानकारी दिए । महानगर कमिटीको सदस्यमा पार्वती भुजेल, उर्मिला परियार, कृष्णबहादुर घर्ती, शेरबहादुर थापा दिवाकर ताम्राकार हस्तवीर थापा माया थापा छन् ।

तपाईको प्रतिक्रिया