७२ औं कुष्ठरोग दिवस २०८१
कुष्ठरोगका बिमारी र समाजको जिम्मेवारी

कुष्ठरोग एक प्रकारको नशाजन्य रोग हो । २००० वर्ष पहिले अफ्रिकाबाट देखा परेको यस रोगले विश्वका सबै देशका हरेक व्यक्तिलाई प्रभावित तुल्याउँछ । मानिसमा यो रोगसँग लड्ने क्षमता ९५ प्रतिशत हुने भएकाले सबैलाई यो रोग लाग्ने होइन । यस रोगले धेरै व्यक्तिलाई असर पनि गर्दैन र देखा पनि पर्दैन ।
यो रोग माइक्रो ब्याक्टेरिया लेप्रा जीवाणूबाट मानिसबाट मानिसमा सर्छ । तर कुष्ठरोग लागेका व्यक्तिले एक डोज औषधी लिएपछि अन्य व्यक्तिमा यो रोग सर्दैन । यो रोग लागेका व्यक्तिहरूमा दाद आउने, आँखो कमजोर हुने, हातखुट्टा सुन्निने, शरीर दुख्ने, कानका लोतीहरू बाक्लो हुने, छाला बाक्लो हुने आदि लक्षणहरू देखिन्छन् । यो रोगका यी लक्षणहरू देखिने अवस्थामै औषधी सेवन गरेर नियन्त्रणमा लिन सकिन्छ ।
जुन व्यक्तिले सुरुमै नियन्त्रणमा लिन सक्दैन, त्यस्ता व्यक्तिलाई हातखुट्टा सुन्निने, घाउ चोटपटकहरू छिटो निको नहुने, सामान्य क्रियाकलापहरूको अनुभूति नहुने हुन सक्छ, जसलाई कुष्ठरोगमा परिणत भएको मानिन्छ । यो रोग तुरुन्तै लाग्ने र छिटो निको हुने रोग होइन । रोगसँग लड्न नसक्ने व्यक्ति कुपोषणको शिकार हुने, अव्यवस्थित बसोबासमा बस्ने र अत्याधिक चिसो (तापक्रम नमिल्ने खालको) ठाउँमा बस्ने व्यक्तिहरूमा देखा पर्न सक्ने रोग मानिन्छ कुष्ठरोग । तर यो रोग वंशाणुगत रोग होइन ।
नेपालमा प्रत्येक वर्ष करिब ३ हजार जना यो रोगबाट संक्रमित हुन्छन् । तीमध्ये २ हजार २ सय जति सम्पर्कमा आउँछन् र नियमित जाँच गर्छन् भने करिब ८ सय जना जति उपचार विहीन अवस्थामा छन् । सन् १९५३ बाट नेपालमा यो रोगको आधिकारिक जानकारीमा आएको हो । यस भन्दा पहिले यो रोग पापको कारणले लाग्ने असाध्य रोगको रूपमा चिनिन्थ्यो ।
समाजमा महामारीको रूपमा यो रोगले च्याप्छ भन्ने धारण व्याप्त थियो । यो रोग लागेका व्यक्तिसँग सर्वसाधारण पनि त्रसित हुने र शासक÷प्रशासनले पनि वन जडडालमा विस्थापित गराउने चलनले यो रोगलाई कलंकको रूपमा हेरिन्थ्यो । जसबाट कुष्ठरोग प्रभावित व्यक्तिहरूले समाजमा अपहेलित हुने, एक्लोपनमा जीउने, सामाजिक उत्तरदायित्व बहन गर्न नसक्ने, समाजबाट विभेद सहनु पर्ने, बहिष्कारको पीडा बोक्नुपर्ने लगायतका अथाह पीडाहरू भोगेका थिए । अझ धार्मिक हिसाबले पनि यो रोगलाई अन्यथा परिभाषित गरेकाले कुष्ठ प्रभावितहरू मर्माहत हुन पुगेका थिए ।
कुष्ठरोगको सम्बन्धमा समाजमा व्याप्त भ्रान्ति र कुप्रथाहरू, साथै कुष्ठरोगीको सामाजिक स्थिति र उपचार प्रक्रियामा चुनौती छन्
अहिले यो रोगको औषधी पत्ता लगाई सकिएको छ । औषधीबाट यो रोग निको हुने रोगमा परिणत भइसकेको छ । सरकारी संस्थाहरूले निःशुल्क उपचारको प्रविधि ल्याएर रोगीको सेवामा उल्लेखनीय कदम चालेको छ । यो रोग लागेपछि उपचार गर्न सकिन्छ भन्ने कुरालाई बुझाउन सकिएको छ । धेरै संघसंस्थाहरु र स्वास्थ्य केन्द्रहरुले यो रोग लागेका व्यक्तिलाई सम्पर्कमा ल्याएर उपचार गर्ने, परामर्श दिने र समाजमै बसेर उपचार गर्ने विधिहरु ल्याएका छन् । यो रोग निराकरणका औषधीहरु पर्याप्त छन् तर यस रोग प्रति सामाजिक धारणा र रोग लागेपछि एक्लै बाच्नुपर्छ भन्ने धारणले रोगीहरूले रोग लुकाउने गरेको पाइएको छ । उनीहरु उपचार पद्धतिमा आउन चाहिरहेका छैनन् ।
नेपालमा कुष्ठरोगको उपचार बहु औषधी विधिबाट गरिन्छ । कुष्ठरोगलाई कम किटाणुवाला र बढी किटाणुवाला भन्ने कुरामा वर्गीकरण गरी कम किटाणु वालालाई ६ महिनाको औषधीद्वारा र बढी किटाणु छालाको रोगलाई १२ महिनाको औषधी सेवन गराई उपचार गरिन्छ । थप जटिलता आएको खण्डमा समेत २ वर्षको उपचारपछि पूर्णतया निको हुन्छ कुष्ठरोग ।
यो रोगको लक्षण र चिन्हको आधारमा बिरामीको छाला जाँच प्रक्रियाबाट पत्ता लाग्दछ । यस रोग लागेका व्यक्तिलाई समयमै उपचार पद्धतिमा ल्याउन नसके यसबाट छालाका बाहिरी स्नायुहरूलाई असर गर्दछ जसबाट दीर्घकालीन असरहरु देखापर्दै मांशपेशिहरूमा पक्षघात हुने, हात गोडाका औलाहरु वाधिने आँखाको ढकनी बन्द गर्न नमिल्ने भई आँखा नदेख्ने सम्मको असरहरु देखा पर्दछन् । रोगको कारणले अंगभंग हुँदैन तर रोगबाट ल्याएको अन्य संक्रमणबाट अंगभंग हुन सक्छ ।
यसैले रोगलाई सबै खाले संक्रमणबाट बचाउन संघ संस्था, परिवारबाट कुष्ठप्रभावित व्यक्तिलाई उचित व्यवस्थापन गर्नुपर्दछ । कुष्ठरोगीलाई समाजमै राखेर सबैसँगै बसेर उपचार गराउने वातावरण बनाउनु पर्छ । वर्तमान समयमा कुष्ठप्रभावित व्यक्तिहरूको बारेमा रहेका धारणा परिवर्तन गर्नु प्रमुख चुनौती हो । रोगको हिसाबले हेर्दा कुष्ठरोगले तुरुन्तै मृत्युको मुखमा पुर्याउँदैन । सामान्य दैनिक क्रियाकलाप गर्ने र स्वरोजगारका सीपहरू हासिल गरी सहज रूपमा जीवन बिताउन यस रोगले बाधा पुर्याउँदैन ।
यो सामान्य रोग सरहका रोग हो । तर पनि यो रोगलाई व्यवहारिक रूपमा कष्टकर रोग मानिएको छ । कुष्ठरोग निवारणमा राज्यले चालेका प्रयासहरू परामर्शदाताबाट निर्देशित उपायहरू तथा कार्यक्रमहरू सञ्चालन गरिएका छन् । स्थानीय निकायको पहुँच र सामाजिक रूपान्तरणका संघ संस्था तथा सामाजिक अभियन्तासम्म नपुगेको यो रोगको विषयलाई सबैको सरोकारवाला रोगमा परिवर्तन गर्नुपर्छ ।
समस्त रूपमा समुदाय भित्रै जागरण अभियान चलाउनुपर्छ । उपचारजन्य सेवा लगायत सम्मानजनक सुविधाहरू प्रदान गर्न सकिन्छ । हामी स्वास्थ्य सम्बन्धित संघ संस्थाहरूले यस रोगप्रति चासो बढाउँदै यसका मेडिकल निगरानी तथा उपचार प्रणालीमा रोगीलाई समाहित गराउन सक्ने कार्यहरू सम्पादन गर्नु जरुरी छ । राष्ट्रले लिएको कुष्ठरोग निवारण कार्ययोजना र दृष्टिकोणबाट राज्यका सबै स्थानीय निकायहरू मार्फत जनमानसमा पुर्याउन परेको छ भने हामी संघ संस्थाहरूले पनि हाम्रा कार्यक्रमहरूमा अभिमुखिकरण, जनचेतनामूलक प्रदर्शन चलाउनु पर्दछ ।
कुष्ठरोग कोविड जस्तो महामारी रोग होइन । प्राणघातक रोग पनि होइन । तैपनि यस रोगका विरामी कलंकको किट्टामा परेका छन् । यो रोग लागेका व्यक्तिको पहिचान र उनीहरूको उपचार सहज भएको कुराहरू उजागर गर्दै समाजका प्रत्येक व्यक्तिहरूले उनीहरूको सेवा गरेर कुष्ठ प्रभावितहरूको अधिकार र सम्मानमा उचित ख्याल राख्न सक्यौं भने कुष्ठरोग निवारणमा धेरै उपलब्धिहरू पनि हासिल गर्न सक्दछौं ।
(शर्मा नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष हुन्) ।
तपाईको प्रतिक्रिया