ताङतिङमा स्वास्थ्य शिविर र ब्ल्याङकेट वितरण

पोखरा ।
मादी २ ताङतिङमा लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसको आयोजनामा, सन्ना मिल्लर अस्ट्रेलियाको आर्थिक सहयोग र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएकाे छ । शिविरमा २४५ जना बिरामीहरुलाई बालरोग, प्रसूति रोग, मुटुरोग, सर्जिकल, भिडियो एक्सरे, इसिजी परीक्षण तथा निशुल्क औषधि वितरण गरिएको थियो ।
मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले मादीको विकट गाउँमा आएर लायन्स क्लब अन्नपूर्णले स्थानिय जनतालाई स्वास्थ्य सेवा दिएकोमा खुशी व्यक्त गरिन् । सो अवसरमा, रुंगटा वेलफेयर सोसाइटी बिरगंजको सहयोगमा, स्थानीय निम्न आय भएका विपन्न वर्गका ५० जनालाई ब्ल्याङकेट वितरण प्रमुख अतिथिले प्रदान गरे ।
मादी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोज बहादुर गुरुङले शहर जान सक्ने स्वास्थ्य परीक्षणको अवसर नभएका गाउँले जनतालाई लायन्स क्लबले गाउँमै आएर स्वास्थ्य सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।
फिस्टेल हस्पिटलका वरिष्ठ सर्जन डा. प्रदीप घिमिरेले लायन्स क्लब पोखरा अन्नपूर्णसँगको सहकार्यमा करिब २० वर्षदेखि लगातार ३० भन्दा बढी स्वास्थ्य शिविर सम्पन्न भएको जानकारी दिए । परियोजना निर्देशक सोनाम साङपोले अस्ट्रेलियाको सन्ना मिल्लर संस्थाको आर्थिक सहयोगले स्थानीय जनतालाई सेवा दिन पाएको र आगामी दिनहरूमा पनि यस्ता सहयोगहरू लायन्स क्लबलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य संयोजक वरिष्ठ फिजिसियन डा. बसन्त ताम्राकारले लायन्स क्लब अन्नपूर्णले गाउँलेको मागलाई मध्यनजर गर्दै यस वर्ष ताङतिङमा स्वास्थ्य शिविर आयोजना गरेको बताइन् । हिमालय नमूना माध्यमिक विद्यालयका प्रधानाध्यक्ष ओमप्रकाश गुरुङले क्लबले स्वास्थ्य शिविर र ब्ल्याङकेट वितरण कार्यक्रम आयोजित गरेर ताङतिङका बासिन्दालाई ठूलो फाइदा दिएको बताए ।
ताङतिङ सामुदायिक होमस्टे अध्यक्ष तिलसुवा गुरुङले पाहुनाहरूको स्वागत गर्न पाउँदा खुशी व्यक्त गरिन् । सो अवसरमा, जनप्रतिनिधि हेमा विक, क्लबका पूर्व अध्यक्षहरु रविसन्स प्रजू, रुद्र घले, डम्मर सि गुरुङ, पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य दुधमान गुरुङ, राधिका ताम्राकारले शुभकामना दिए ।
उक्त कार्यक्रममा स्वागत भाषण लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसका अध्यक्ष लक्ष्मी गुरुङ र कार्यक्रम सञ्चालन सचिव लक्ष्मी गुरुङ बिले गरिन् । लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छविले क्लबको ३८ वर्षको स्थापना अवधिमा स्वास्थ्य शिविर, विद्यालयमा खानेपानी टंकी निर्माण, विद्यालय भवन निर्माण, स्वास्थ्य पोस्ट निर्माण, ह्वीलचेयर वितरण, छात्रवृत्ति प्रदान तथा वातावरणीय क्षेत्रमा भएका कामहरूको जानकारी दिए ।
तपाईको प्रतिक्रिया