ब्यान्डहरुको राजधानी पोखरामा ‘ब्याक टु नाइन्टिज’ अर्थात् विरासतलाई फर्केर हेर्दा

समाधान संवाददाता २०८१ माघ १३ गते १९:३२

पोखरा । ब्यान्डहरुको राजधानी पोखरामा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यही माघ २६ गते शनिबार साँझ पोखरा प्रदर्शनी केन्द्रमा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको हो ।

Advertisement

कार्यक्रममा ९० को दशकमा उदाएर राष्ट्रिय/अर्न्तराष्ट्रिय ख्याति कमाउन सफल ७ ब्यान्डहरुले प्रस्तुती दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा कार्यक्रमका संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा ब्यान्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्यान्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली ब्यान्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्यान्ड (प्रकाश राना), मध्याह्न ब्यान्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोन्ड ब्यान्ड (श्यामसुङ तामाङ)को प्रस्तुति रहनेछ ।

ब्यान्डको राजधानी पोखराको विरासत फर्काउने गरी कार्यक्रम गर्न लागिएको आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले बताए । ॅ९० को दशकमा पोखराका ब्यान्डले देश, विदेशमा कला र संगीतमार्फत ध्यान तानेको थियो,’ उनले भने, ‘समय अन्तरालमा आ–आफ्‌नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान विस्तारै सुस्ताउँदै गयो । तर फेरि एक पटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यही विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’
उनले संगीतमार्फत विश्वको ध्यान फेरि एक पटक पोखरामा तान्न कार्यक्रम कोसेढुंगा साबित हुने उनको विश्वास छ । सुषुुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डहरुको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।


ॅपोखरालाई पर्यटनको राजधानी घोषणा गरिए पनि व्यवहारिक रुपमा लागू नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,’ उनले भने, ‘कार्यक्रममार्फत पोखरालाई रिब्रान्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, संगीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नु पनि कार्यक्रमको उद्देश्य हो ।’

कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनील थापाले बताए । उनले भने, ‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्‌ना सन्ततिलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्ने छ ।’ कार्यक्रम गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन भएर तयारी सुरु भइसकेको कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया