पाताले छाँगो महानगर आफैंले चलाउने

सल्टेकै हो त पाताले छाँगो व्यवस्थापन विवाद ?

४० वर्षे ठेक्काका बारेमा भने स्थानीयसँग छलफल गरिने

समाधान संवाददाता २०८१ माघ १४ गते ४:०२

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगोमा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले पाताले छाँगो महानगरपालिका आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्र्योटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
छाँगोको सञ्चालन र व्यवस्थापन २०३४ सालदेखि छोरेपाटन माविले गर्दै अएको छ । पाताले छाँगोको सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिएर प्रवेशद्वारमा महानगरपालिकाले माघ १ गतेदेखि सिलबन्दी गरेको थियो । महालेखा परीक्षकको कार्यालयले राजस्व संकलनसम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि छाँगो महानगर आफैंले सञ्चालन गर्न लागेको हो । स्थानीय बासिन्दाले भने महानगर निजी संस्थालाई ४० वर्षका लागि ठेक्का लगाएर स्कुलबाट छाँगो खोस्नु नै अनुपयुक्त भन्दै विरोध गर्दै आएका थिए ।

Advertisement

महानगनरले सेती क्यान्योन प्रालिलाई छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालन गर्न ४० वर्षका लागि जिम्मा दिने सम्झौता २०७८ साउन १४ गते गरेको छ । जुन योभन्दा अघिल्ला मेयर मानबहादुर जिसीकै कार्यकालमा भएको हो । त्यही सम्झौतासँग स्थानीय झस्किएका हुन् । छाँगो र आसपासको जमीनसहित छाँगोदेखि फेवा बाँधसम्मको १ दशमलव ५ किलोमिटर पार्दी खोलाले चर्चेको भाग पनि प्रयोग गर्ने छ ।

विद्यालय पनि यस अघि नै महानगरलाई छाँगो सञ्चालन गर्न दिन राजी भइसकेको छ । २०८० साउन १० गते पोखरा महानगरका जनप्रतिनिधि, कर्मचारी, कम्पनीका अध्यक्षसँग बसेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी, पूर्वअध्यक्षहरु झपिन्द्रराज रेग्मी, तीर्थराज अधिकारीले सम्झौता गरिसकेका छन् ।

छोरेपाटन माविले छाँगोको शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानुन, महानगरपालिका आर्थिक ऐनको प्रावधान विपरीत

आइतबारको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा छोरेपाटन माविले पाताले छाँगोको पर्यटन शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानुन, पोखरा महानगरपालिका आर्थिक ऐनको प्रावधानहरू विपरीत रहेको ठहर गरेको छ । साथै छाँगोको गेटमा लगाइएको ताला खोलेर नियमितरुपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । ‘महालेखाको प्रतिवेदनले समेत पाताले छाँगोबाट पर्यटन शुल्क उठाइ सोबापत प्राप्त आम्दानी छोरेपाटन माविले भोग गरिरहेको नियम विपरीत भनी स्पष्ट किटान गरी असुल उपर गर्नुपर्ने बेरुजुको रूपमा कायम गरेको हुँदा तत्कालै पाताले छाँगोमा लगाएको ताला खोलेर महानगर आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाइ पाताले छाँगो सञ्चालन गर्ने, पर्यटकको लागि खुला गर्ने र महालेखाले औंल्याएको बेरुजु फछ्र्योटका लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो,’ निर्णयमा भनिएको छ ।

Advertisement

पाताले छाँगोमा परियोजना सञ्चालन गर्ने सम्बन्धमा सर्वपक्षीय बैठकले सरोकारवाला पक्षहरूका बिचमा छलफल गर्ने निर्णय गरेको छ । सेती क्यानोन प्रालिलाई शिशापुल तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्ने गरी सार्वजनिक निजी साझेदारी अवधारणामा परियोजना अगाडि बढिरहेको अवस्थामा सो परियोजनाका सम्बन्धमा स्थानीयसँग थप छलफल गरिने महानगरका मेयर धनराज आचार्यले बताए । निर्णयमा भनिएको छ, ‘सम्झौताको समयावधि र परियोजनाबाट प्राप्त हुने रोयल्टी लगायत स्थानीय बासिन्दाले प्राप्त गर्ने अवसरका सम्बन्धमा समेत राजनीतिक दल तथा स्थानीयको समेत प्रतिनिधिमूलक उपस्थितिमा छलफल गर्न आवश्यक देखिएको हुँदा सो परियोजना सञ्चालनको लागि सेती क्यानोन प्रालिको समेत उपस्थितिमा व्यापक छलफल मार्फत अगाडि बढ्ने निर्णय गरियो ।’

बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सुरक्षा निकायका प्रमुख, वडा नम्बर १७ का वडाध्यक्ष राधिकाकुमारी शाही योगी, छोरेपाटन माविका प्रधानाध्यापक, विव्यसका अध्यक्ष र पूर्वअध्यक्ष समेतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया