चण्डी माविको अभिभावक दिवस

पोखरा ।
पोखरा ३३ भरतपोखरीको बरभोटेनी स्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवं ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले शैक्षिक गुणस्तरसँगै विद्यार्थीलाई नैतिकवान बनाउन लाग्नुपर्नेमा जोड दिए ।
विद्यालयका आवश्यक भौतिक पूर्वाधारका लागि वडाका तर्फबाट सहयोग गर्ने आश्वासन दिँदै उनलेसबैको साथ र सहयोगमा यस क्षेत्रको समग्र विकास गर्न सकिने जनाए । भरतपोखरी आँफैंमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउँदै उनले यहाँ हुने हरेका विकास निर्माण योजनालाई सफल बनाउनका लागि सबैले आआफ्नो तर्फबाट सहयोग गर्नुपर्ने धारणा राखे ।
विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका पत्रका वासुदेव पौडेलले धेरै आरोह अवरोह पार गर्दै विद्यालयले यस क्षेत्रको शैक्षिक जागरणमा विशिष्ट भूमिका खेलेको बताए । अक्षयकोषदाता पिताम्बर पौडेलले स्थापनाकालदेखि वर्तमानसम्म यहाँका स्थानीय समाजसेवी, बुद्धिजीवीको अथक प्रयासकै कारण विद्यालय यस अवस्थासम्म आइपुुगेको जनाए ।
विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले विद्यालयको समग्र आर्थिक, शैक्षिक एवम् भौतिक प्रगति र भावी योजनाबारे प्रकाश पारे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर क्षेत्रीले सबैको साथ र सहयोगमा विद्यालयको सर्वाङ्गिण विकास गर्न सकिने अपेक्षा गरे ।
कार्यक्रममा शिक्षकद्वय कमलप्रसाद पौडेल र सन्तोष लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चेतबहादुर महत, शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष कमलप्रसाद पौडेल, नेकपा एमाले पोखरा महानगपालिका वडा नं ३३ का अध्यक्ष टुकराज भण्डारी, छात्रा लक्ष्मी केसी लगायतले बोलेका थिए । सो अवसरमा अभिभावक खेलसँगै विद्यार्थीले भजन, गीत, नृत्य लगायतका विभिन्न प्रस्तुति राखेका थिए ।
तपाईको प्रतिक्रिया