स्टेसनरी महासंघको सभा

समाधान संवाददाता २०८१ माघ १४ गते ११:०८

पोखरा ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पठन संस्कृतिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघको शनिबार पोखरामा आयोजित १७ औँ साधारणसभामा उनले पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउनका लागि प्रदेश सरकारले यहाँका पुस्तकालयहरूको व्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको जनाए ।

Advertisement


भविष्यमा पोखरा महानगरसँग मिलेर देशविदेशका मानिसको जमघट गराउने खालको विद्युतीय पुस्तकालय बनाउने सोच रहेको उनले खुलाए । समाजलाई शिक्षित बनाउन पुस्तक व्यवसायी महासंघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले व्यवसायलाई भिन्न तरिकाले कसरी अगाडि बढाउने, यहीँ केही गर्छु भन्नेलाई कसरी रोक्ने र यहाँ केही हुँदैन भन्ने भाष्यलाई निरुत्साहित गर्न सबैको पहल जरुरी भएको धारणा राखे ।


प्रकाशनहरूले हाम्रो परम्परा, संस्कार, संस्कृति, पूर्वीय दर्शन र चिन्तन मननका कुराहरू ल्याउन आवश्यक भएको र सुसंस्कृत हुनका लागि अनुशासन जरुरी भएको उनको भनाइ छ । महासंघले उत्पादन, प्रकाशन, वितरण, मसलन्द खेलकुदलगायत माध्यमबाट समाजमा योगदान पुु¥याएको उल्लेख गर्दै उनले समाजलाई ज्ञान बाँड्ने लगायत धेरै काममा संस्थाको ठूलो हात रहेको सुनाए ।


महासंघका पूर्वअध्यक्ष एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई कुन दिशामा लैजाने, कस्तो बनाउने त्यो जिम्मेवारी हाम्रै काँधमा रहेको बताउँदै पठन संस्कृतिको विकासमा जोड दिनुपर्ने धारणा राखे । किताबलाई साथी बनाउने, किताबलाई उपहार लिनेदिने बानीको विकास गर्नुपर्नेमा उनको जोड छ ।


यही जनवरीमै पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भको तयारी भइरहेको बताउँदै उनले विभिन्न संघ, संस्थाहरूका अधिवेशन तथा कार्यक्रम पोखरामा ल्याउन अनुरोध गरे । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघका अध्यक्ष शिवसागर शर्माले यस व्यवसायलाई मर्यादित बनाउन लागिपरेको उल्लेख गरे । नीतिगत तहमा आफूहरुले शिक्षा मन्त्रालय तथा सरोकारवालाहरूसँग निरन्तर छलफल गरिहेको उल्लेख गर्दै उनले पुस्तक नीति छिट्टै आउने विश्वास व्यक्त गरे ।

Advertisement


कार्यक्रममा महासंघ गण्डकी अध्यक्ष कृष्णप्रसाद पोखरेल, प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, पूर्ववरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान गरेकोमा संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे, महानगर प्रमुख धनराज आचार्य लगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया