महिलालाई तनाव व्यवस्थापन तालिम

समाधान संवाददाता २०८१ माघ १४ गते ११:३१

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ६ स्थित महिला सञ्जालले शनिबार तनाव एवं समय व्यवस्थापन कार्यक्रम आयोजना गर्‍यो । वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा स्वामी डा योगी विकासानन्दले तनाव एवं समय व्यवस्थापनबारे प्रशिक्षण दिए ।

Advertisement


विकासानन्दले तनाव अहिलेको युगको सबैभन्दा जटिल मानसिक समस्या बनेको तर्क गर्दै वैज्ञानिक विकासको सहयोगले जुन जुन देशमा जीवनशैली जति जति परिवर्तन भइरहेको छ, त्यति त्यति नै त्यहाँका मानिस बढी तनावमा बाच्न बाध्य बनेको उल्लेख गरे ।


तनाव सधैँ नकारात्मक नहुने भन्दै उनले एक हदसम्मको तनावले सजगता, प्रेरणा र कार्यदक्षता दिने स्पष्ट पारे । उनले भने, ‘तनावले सीमा नाघ्नासाथ तनावले अनेक प्रकारका शारीरिक, मानसिक र भावनात्मक समस्या खडा गरिदिन्छ, हाम्रोजस्तो अविकसित देशमा पर्याप्त चुनौती र प्रतिस्पर्धा नहुनु, कार्यसम्पादनको गुणवत्ताको कुनै मापदण्ड नहुनु, निश्चित लक्ष्यसम्म पुग्न निश्चित समय सीमा निर्धारण नहुनुले पनि मानिस अल्छी, लोसे र अप्रत्युत्पादक भएको देखिएको छ ।’


आफूलाई भौतिक, मानसिक कुरामा प्रतिकूल असर पार्ने कतिपय कुराको संलग्नताप्रति दृढतापूर्ण नाइ भन्न सिक्नुपर्नेमा उनले जोड दिए । ध्यान र योगाभ्यास तनाव विसर्जनमा सर्वाधिक लाभदायक हुने उनले बताए । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र सकारात्मक रहन सक्ने समझ र धैर्यको विकास उनले हुने बताए । योग, पौडी र प्रकृतिमा टहल्नुलाई तनावबाट मुक्त हुने निरापद उपाय भएको उनले बताए ।


कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले वर्तमान समयमा तनाव व्यवस्थापन अपरिहार्य भएको बताइन् । सञ्जालले निकै समय सान्दर्भिक कार्यक्रम आयोजना गरेको भन्दै उनले प्रशंसा गरिन् । सञ्जाल अध्यक्ष बबिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पवित्रा थापा र सचिव रेनु लामिछानेले बोलेका थिए ।

Advertisement


सञ्जीवनी नारी समूहका अध्यक्ष भगवती बानिया केसीको संयोकत्वमा भएको कार्यक्रम पोखरा ६ भित्रका १८ महिला समूहका साढे ३ सय महिला सहभागी थिए ।

तपाईको प्रतिक्रिया