पोखराको साइमन पार्टी प्यालेसबाट १४ लाख रुपैयाँ चोरीमा संलग्न २ पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्दामा दुईजनालाई पक्राउ गरेको छ । माघ ११ गते राति करिब १ बजे पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालयबाट नगद १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ३ घर भएकी २९ वर्षीया पूजा श्रेष्ठ छन् । इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा प्रहरीले माघ १३ गते बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगरस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूसँग नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ र तीनवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनामाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान गर्न माघ १३ गतेदेखि लागु हुने गरी ६ दिनको म्याद थपिएको छ । घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया