पोखरामा सुरु भयो ‘घर–घरमा प्रहरी’

पोखरा । पोखरामा शान्ति सुरक्षा र अमनचयन सुनिश्चित गर्न ‘घर–घरमा प्रहरी’ अभियान सुरु गरिएको छ । वडा प्रहरी कार्यालय पोखरा–६ बैदामले वडाबासीको सुरक्षालाई प्राथमिकता दिँदै यो अभियान सुरु गरेको हो । पर्यटकीय क्षेत्र लेकसाइडबाट सुरु गरिएको अभियानको उद्घाटन कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले गरेका छन् ।
प्रहरीले पोखरा महानगरपालिका–६ का ४९ हजार ९ सय ४६ घरपरिवारमा स्क्यान गर्न मिल्ने स्टिकर टाँस गर्नेछ । यो स्टिकर स्क्यान गरी घरपरिवार वा पर्यटकले प्रहरीलाई आफ्नो समस्या वा गुनासो तुरुन्तै जानकारी दिन सक्नेछन् । प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष निरौलाका अनुसार यो अभियान दुई महिनाभित्र सम्पन्न गरिनेछ । उनले अभियानमार्फत आएका समस्या समाधानका लागि छुट्टै युनिट खटाइने पनि जानकारी दिए ।
अभियानको उद्घाटन कार्यक्रममा कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले यो अभियानले नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले बैदामबाट सुरु गरिएको अभियानलाई आगामी दिनमा कास्की जिल्लाभर विस्तार गरिने बताए । नागरिकको शान्ति सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले थालिएको यो प्रयासले प्रहरीप्रतिको धारणा सुधार्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले अभियानले शान्ति सुरक्षामा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसाय प्रवद्र्धन र नागरिक सुरक्षाका लागि अभियानमा सधैँ सहयोग रहने प्रतिबद्धता जनाए । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन थालेको यो अभियान प्रशंसनीय रहेको बताए ।
रेस्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले १० हजार स्टिकर प्रदान गर्ने घोषणा गरेको छ । पोखरेली ट्याक्सी सेवा प्रालिले अपराध न्यूनीकरणका लागि ५ हजार स्टिकर सहयोग गर्ने निर्णय गरेको छ ।
यो अभियानले कास्कीमा शान्ति सुरक्षा बलियो बनाउने र अपराध नियन्त्रणमा उल्लेखनीय प्रभाव पार्ने विश्वास लिइएको छ । स्थानीय व्यवसायी र समुदायको सहकार्यले यस अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया