पोखराको रोयल सहकारीका प्रतिनिधि बेलायतको रोचडेल सहकारीमा

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मूख्य प्रवन्धक मीलन ढकालको नेतृत्वमा संस्थाका सदस्यहरुले बेलायतको म्यान्चेष्टरमा रहेको रोचडेल सहकारीको म्यूजियमको अध्ययन अवलोकन भ्रमण गर्नुका साथै अन्तर सहकारी सम्वन्धका विषयमा छलफल गरेका छन् ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) र संयुक्त राष्ट्रसंघको संयुक्त आव्हान बमोजिम वर्ष २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा गरिए बमोजिम रोचडेल म्यूजियम भ्रमण गर्ने अवसर मिलेको हो ।

सन् २०१२ मा पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउँदै गर्दा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ लगायत दर्जनौ नेपाली सहकारीकर्मीहरुले बेलायतमा रहेको रोचडेल म्युजियमको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए । सहकारीको उद्गम स्थल, पवित्र भूमिको रुपमा परिचित रोचडेल म्यूजियम जोकोही सहकारी कर्मीको पहिलो छनौटको विषय बन्दै आएको छ ।
सन् १८४४ मा बेलायतको म्यानचेष्टर सहरमा स्थापना भएको रोचडेल पायनियर इक्विटेवल सोसाइटीको पदचाप गर्दै हाल विश्वभर लाखौ सहकारीमा १ अर्ब भन्दा बढी मानिसहरु सदस्यको रुपमा र २८ करोड भन्दा बढी मानिसहरु कर्मचारीका रुपमा आवद्ध छन् ।
यसै क्रममा मुख्य प्रवन्धक ढकालले ब्राडफोर्ड स्थित ब्राडफोर्ड डिस्ट्रिक्ट क्रेडिट युनियनको समेत अवलोकन गरी पोखरा रोयल सहकारी र त्यहाँको क्रेडिट युनियन बीच आपसी सम्वन्ध कायम गर्ने विषयमा छलफल समेत गरेका छन् ।

संस्थाका शेयर सदस्य तथा ननीटन सहर निवासी ब्रिटिस आर्मीबाट सेवानिवृत्त समाजसेवी अनरेरी लेफ्टिनेन्ट ओमप्रकास गुरुङको समन्वयमा ब्राडफोर्ड र बेडवर्थ बोरोह काउन्सिलका मेयरहरु बेभर्ली मुलानी र बिल हानकुकसँग भेट गरी अनुभव आदानप्रदान भएको मूख्य प्रवन्धक ढकालले बताए ।
पोखरा रोयल सहकारीमा धेरै सदस्यहरु लाहुरे पृष्ठभूमिको रहेको र हालका अध्यक्ष समेत बेलायती सेनाको सेवानिबृत्त ब्रिटिस सेनाका परिवार भएको सुनाउदा मेयरहरु निकै उत्साहित भएको र छिट्टै नै नेपाल भ्रमण गरी संस्थाको गतिविधि हेर्न चाहेको शेयर सदस्य ओमप्रकास गुरुङले बताए ।

तपाईको प्रतिक्रिया