सम्पादकीयः सामाजिक सञ्जाललाई मर्यादित बनाउन पहल

नेपालमा पछिल्लो समयमा फेसबुक, ट्वीटर, स्टाग्राम टिकटक जस्ता सामाजिक सञ्जाल प्रभावकारी सूचना र सञ्चारको माध्यम बनेको छ । आम मानिसमा इन्टरनेटको पहुँच तथा सञ्चार प्रविधिको विकाससँगै सामाजिक सञ्जालका प्रयोगकर्ताको अनुपात बढेको छ । प्रयोगकर्ताको व्यापकता बढेको अनुपातमा सामाजिक सञ्जालको दुरुपयोगको जोखिम पनि त्यत्तिकै बढी छ ।
सामाजिक सञ्जाललाई एकअर्काको विरुद्धमा अस्त्र बनाएर प्रयोग गर्नेमात्र होइन, अनावश्यक टिकाटिप्पणीको थलो बनाइको छ । संगठित साइबर समूह बनाउने अमर्यादित गालीगलौजमा उत्रिने, अशिष्टता प्रदर्शन गर्ने माध्यम समेत बनेको छ ।
विभिन्न राजनीतिक दल र फरक–फरक स्वार्थ समूहले सामाजिक सञ्जाललाई गलत प्रचारप्रसारको माध्यम बनाउने र निहीत उद्देश्यका निम्ति प्रविधिको दुरुपयोग गर्दा आम नागरिकमा गलत सूचना प्रवाहित भई रहेको छ । सामाजिक सञ्जालको दुरुपयोगले पारिवारिक विखण्डन हुने खालका सामाजिक अपराधका घटनाहरु पनि हुने गरेका छन् । अनियन्त्रित सूचना प्रणाली र सामाजिक सञ्जालको अभ्यासले आम नागरिकलाई सत्य र सही सूचनाबाट वञ्चित तुल्याउने र नियोजित ढंगबाट भ्रमपूर्ण अभ्यासको माध्यम बनिरहेको अवस्थामा सरकारले विशेष कानुन बनाउन प्रक्रिया थालेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका ल्याएको सरकारले सञ्चालन अनुमति नलिए फेसबुक लगायत सामाजिक सञ्जाल रोक लगाउने गरी सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।
राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता गराएको विधेयकले फेसबुक, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । साथै फेसबुकलगायत सामाजिक सञ्जालले नेपालमा सम्पर्कविन्दु स्थापना गर्नुपर्ने नभए सञ्चालनमा रोक लगाउने जस्ता व्यवस्थासमेत विधेयकमा समावेश छ । विधेयकको कसुर र सजाय सम्बन्धी व्यवस्थामा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था राखिएको छ ।
सामाजिक सञ्जालको व्यापकता बढेको अनुपातमा दुरुपयोग रोक्ने प्रयास नभएको अवस्थामा विधेयक आउनु सकारात्मक छ । नेपालको सन्दर्भमा विशेष कानुनको अलवा सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध अनुसन्धान गर्न र जोखिम न्यून गर्न पर्याप्त स्रोतसाधनको व्यवस्था गर्नु पर्ने देखिन्छ । नेपाल सरकारले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको’ टिक टकलाई केही समय बन्द गराएर पछाडी खोलेको छ ।
आगामी दिनमा सरकारले सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जबाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने, नियमन गर्न ध्यान दिन पर्छ । सूचना प्रणाली प्रयोग गर्दा सबै साधारण जो कोहीले मर्यादा, शिष्टता र सामाजिक सद्भावको कुरालाई मनन गर्नु पर्छ । सामाजिक सञ्जाल र सूचना प्रणालीले समाजलाई जोड्ने र सकारात्मकता तर्फ लैजान सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ ।
तपाईको प्रतिक्रिया