बिजुलीका तार खम्बाबाट जमिनमुनि

पोखरा ।
अमरसिंह चोकको सडक बिचमै ठडिएको बिजुलीको खम्बा यसै साता उखेलिएको छ । गाडी आउजाउमै जोखिम भइरहेको खम्बामा टाँगिएका तार पनि छैनन् । केही वर्षअघि यही चोकका अरु २ खम्बा पनि सडक बिचमै थिए, जहाँ स्कुटर ठोक्किएर जानै गएको थियो । ती पोल पनि उखेलिसकिएका छन् ।
खम्बाबाट तार निकालिए पनि वरपरका घर वा कार्यालयमा बिजुली आपूर्ति रोकिएको छैन, किनभने बिजुलीको तार आकाशबाट निकालेर जमिनमुनि गाडिएको छ । पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत केही दिनअघि यहाँका घरमा भूमिगत प्रसारण लाइनबाट बिजुली जोडिएको हो ।
पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहेकाले बाटो भने धुलाम्मे र भत्किएको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदी यही हप्ताभित्र थप दुई सय पचास घरमा भूमीगत प्रणालीबाट बिजुली जोडिने बताउँछन् । ‘सडकको उत्तरउर्फका १ सय २० घरमा भूमीगत तारबाट बत्ती जडान भइसकेको छ,’ सुवेदी भन्छन्, ‘अबको एक हप्ताभित्रै दक्षिणतिरका थप २ सय ५० घरमा पनि जोडिन्छ ।’
परियोजनाले लेकसाइड क्षेत्रलाई खुला तारमुक्त बनाउँदै छ । लेकसाइडका धेरैजसो सडक र केही भित्री सडकमा तार बिच्छ्याउन पाइप राखिसकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाइना पुलसम्म पनि तार राखिसकिएको छ । तार बिच्याइसकेका क्षेत्रमा बिजुलीका पोल र तार हटाइँदै छ ।
मुख्य राजमार्गसँग जोडिएका बजार क्षेत्रका सडकका तार पनि भूमीगत गरिने छन् । नयाँबजार हुँदै महेन्द्रपुल, सभागृह हुँदै चिल्लेढुंगा, जिरो हुँदै मालेपाटनको सडकमा पनि बिजुलीका पोल हटाइने छन् । विद्युत्सँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छ्याइनेछ ।
पर्यटन राजधानी पोखरामा भूमीगत प्रशारण लाइनबाटै बिजुली बल्न थालेको छ । चाँडै साढे दुई सय किमीमा यस्तो सुविधा पुग्नेछ ।
पोखरामा आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत र चितवनमा ८० प्रतिशत छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार तथा स्तरोन्नतिका क्रममा पनि सहरी क्षेत्रका अव्यवस्थित भौतिक संरचना हटाउने काम जारी छ । पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँका तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।
तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गर्ने छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । २ वर्षमा काम सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले निर्माणको जिम्मा पाएको छ ।
प्राधिकरणले बनाएको भूमीगत प्रशारण लाइन प्रयोगको विधि यकीन नहुँदा टेलिफोन, केबल र इन्टरनेट भने भूमीगत प्रणालीबाट सुरु भएका छैनन् । आयोजना प्रमुख सुवेदी विद्युत प्राधिकरणले अरुलाई टेलिफोन, केबल, इन्टरनेटका लागि कसरी प्रयोग गर्न दिने भन्ने मोडालिटी तयार गर्न बाँकी रहेकाले अरु सेवा भूमीगत रुपमा सुरु हुन बाँकी रहेको बताउँछन् ।
‘मोडालिटी तयार भए हामी सेवा दिन सक्ने अवस्थामा छौं,’ उनले भने । पोखरामा करिब दुई सय ५० किमी र भरतपुरमा करिब दुई सय किमीका बिजुली तार भूमिगत बनाइँदै छ । पोखरा उपत्यकाकै बिजुलीका तार भूमीगत गर्न पाँच अर्बभन्दा बढी खर्च हुने अनुमान छ । २०७८ माघमा यसको ठेक्का लागे पनि ६ महिनापछि मात्र पोखरामा काम सुरु भएको थियो ।
भरतपुरको काम यही वर्षभित्र सकिने र पोखराको काम भने थपिएको म्यादमा पनि सक्न कठिन हुने देखिएको छ । रियोजनाको म्याद २०२४ जनवरी २० सम्म रहेकोमा ८ महिना थप भएको छ । यो आयोजनाको पोखरा खण्डको बजेट १ अर्ब ३० करोड छ । महँगो प्रणाली भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानैपर्ने विज्ञहरु बताउँछन् । पोखरा वितरण केन्द्र अन्तर्गत विद्युत्का ९४ हजार ग्राहक छन् ।
परियोजनाका इन्जिनियर मेघराज जोशी संवेदनशीलता र भौगोलिक अवस्थाका कारण काममा केही ढिलाइ भएको बताउँछन् । ‘पोखराको भूगोलका कारण एचडिडी प्रविधिबाट काम गर्न सकिएन, म्यानुअल्ली गर्दा ढिलो भएको छ,’ जोशीले भने, ‘बिजुलीका काम सबै एकैपटक गर्न पनि मिल्दैन, बत्ति आपूर्तिलाई पनि ध्यान दिनुपर्छ ।’
अव्यवस्थित तथा जीर्ण विद्युत् पोल र तारको व्यवस्थापनले दुर्घटनाको जोखिम कम हुनुका साथै सहरी सौन्दर्य अभिवृद्धि हुन्छ । अहिले अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट मानिसले ज्याउन गुमाउनुपर्ने स्थिति छ । सवारीसाधन पोलमा ठोक्किएर र करेन्ट लागेर त्यस्ता दुर्घटना हुने गरेका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया