पोखरामा सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली तालिम

समाधान संवाददाता २०८१ माघ १८ गते २०:३५

पोखरा । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजना तथा कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको समन्वयमा पोखरामा सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम भएको छ ।

Advertisement

तीन दिने तालिममा पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाका सहकारी संस्थाका २६ व्यवस्थापक र कर्मचारी सहभागी थिए । तालिममा सहकारी कानुन तथा सुशासन प्रवर्धन, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था र कोपोमिस तथ्यांक प्रणालीको परिचय र कोपोमिस प्रणालीमा सहकारी तथ्यांक प्रविष्टि सम्बन्धी कार्यपत्र प्रस्तुति एवं प्रयोगात्मक सेसन थिए ।

सहभागीले कोपोमिस प्रणालीमा प्रविष्ट गर्नुपर्ने समष्टिगत विवरण, साधारणसभासम्बन्धी विवरण, निर्वाचनसम्बन्धी विवरण, सम्पत्ति शुद्धीकरणसम्बन्धी विवरण र मासिक विवरण सम्बन्धमा विस्तृतरुपमा अभ्यास गरेका थिए ।

कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल र तथ्यांक अधिकृत सूर्यप्रसाद आचार्यले कार्यपत्र प्रस्तुति एवं सहजीकरण गरेका थिए । व्यवस्थापकीय सहजीकरण अधिकृत छैठौँ तुलसीप्रसाद पौडेल र नायब सुब्बा सूर्य तिवारीले गरेका थिए ।

सहकारी रजिस्ट्रार रिजालले सहकारी संस्थाको सुशासनका लागि कोपोमिस प्रणालीको कार्यान्वयन अपरिहार्य रहेको भन्दै तालिमले सहकारी संस्थामा पारदर्शिता, जवाफदेहिता र नैतिकता प्रवर्धन गर्ने विश्वास लिइएको बताए । कृषि व्यवसाय प्रवर्धन तथा तालिम केन्द्र, मालेपाटन, पोखराका कार्यालय प्रमुख नीलकण्ठ पोखरेलले ज्ञानमा आधारित कार्य उपलब्धिमूलक हुने भन्दै व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि भएका सूचना र तथ्यांकका आधारमा अनुगमनसमेत गर्न सकिने धारणा राखे ।

Advertisement

कोअपरेटिभ म्यानेजर्स क्लब कास्की अध्यक्ष मोहनप्रसाद अधिकारीले सहकारीको व्यवस्थापकीय कार्य चुनौतीपूर्ण रहेकाले व्यवस्थापकलाई निपुणता दिन कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको गठन र सञ्चालन गरिएको बताए । तालिममा सहभागी रहेका व्यवस्थापक र कर्मचारीले सहकारीका सत्यतथ्य सूचना र तथ्यांक कोपोमिस प्रणालीमा तत्काल प्रविष्टि गर्नुपर्ने कुरामा जोड दिए ।

सहभागीहरु विष्णुप्रसाद चापागाईं र लक्ष्मी बास्तोला पौडेलले सिकेका ज्ञान, सीप सहकारी संस्थामा उपयोग गर्ने प्रतिबद्धता जनाउँदै अन्य सहकारीलाई पनि तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया