श्रद्धाञ्जली

तिवारी समाजका तिलक

सुरेन्द्रबाबु तिवारी २०८१ माघ १९ गते ०:०५

विक्रम संवत् २०१५ देखि २०२८ सालसम्मको अवधिमा साविक माझठाना, हाल पोखरा महानगर वडा नम्बर २८ का तिवारीहरूले बसाइँ सरेर हालको पोखरा ३१ लामास्वाँरा, मोहोरिया क्षेत्रमा स्थायी रूपमा बसोबास गर्न थालिसकेका थिए । अघिल्लो पुस्ताका बाहरुसँगै तन्नेरी वयका त्यतिबेलाका ठिटाहरु पनि सँगै आए । छोटो दूरीको भएपनि यो उनीहरूको बसाइसराइ नै थियो, नयाँ सजिलो तरिकाले जीवनयापन गर्न हेतु जो राखेका थिए ।

Advertisement

जीविकोपार्जनसँगै शिक्षा र चेतनाको भोक सँगै थियो । यिनै माझठाने तिवारीहरु झापादेखि कोहलपुरसम्म फैलिएका छन् । यिनै बाहरुका छोरामध्येका दोस्रो पुस्ताका प्रतिनिधि हुन् प्रातः स्मरणीय तिलकप्रसाद तिवारी । २००८ साल पुस ७ गते जन्मिएर २०८१ साल माघ ७ गतेकै दिन ७३ वर्षको उमेरमा देहावसान भएका तिवारीको सामाजिक परिवर्तनप्रतिको लगाव र समाज सेवाको योगदानको स्मरण गर्दै यो लेखमार्फत शब्द श्रद्धाञ्जली प्रकट गरिएको छ ।


समाज परिवर्तनको चेत र राजनीतिक संलग्नता


विसं २०२७ सालको एसएलसी परीक्षा तिवारी परिवारका तीन नक्षत्र तिलकप्रसाद, सोमलाल र इन्द्रप्रसाद तिवारीले एकैचोटी उत्तीर्ण गरे । यो परिवारकै गौरवको कुरा थियो । पोखरा २७ शिशुवा, ज्यामिरेकुनामामा पूर्वी पोखराकै नाम चलेको विद्यालय लक्ष्मी आदर्श विद्यालयका तेस्रो ब्याचका विद्यार्थी थिए उनीहरु । विद्यालयमा उनीहरूलाई अंग्रेजी, विज्ञान र सामाजिक विषय अध्यापन गराउने गुरुहरू थिए क्रमशः राखीका तारानाथ रानाभाट, लमजुङ चिशंखुका पुष्प घिमिरे र चिशंखुकै थीरबाबु घिमिरे ।

पूर्वी कास्कीमा संगठन विस्तारको जिम्मा पाएका नेपाली कांग्रेस पार्टीका तत्कालीन कास्की जिल्ला सचिव तारानाथ रानाभाट २०२५ सालको हिउँद महिनामा यिनै प्यारा विद्यार्थीहरूको घरमा एक रात बास बस्न पुगेछन् । त्यसपछि यो क्रम चलिरह्यो ।
प्रतिबन्धित कांग्रेसको संगठन जुर्मुराउन त्यो बसाइ लाभदायी भएछ । पछि यिनै तारा भाट तिवारी परिवारका अभिन्न मित्र र राजनीतिक संरक्षक पनि बनेछन् । गाउँमा यसरी कांग्रेसको समर्थनमा समिति बनेको थियो । यसको अगुवाइ गरेछन् नन्दप्रसाद तिवारीले र यी जुझारु तीन भाइले मात्र दाइलाई समर्थन गरेनन्, बरु यो अभियानमा साथ दिन आइपुगे पूर्णबहादुर बराल, हरिकृष्ण बञ्जारा, र डालराज बञ्जारा ।

Advertisement

यसक्रममा २०४६ सालपछिको खुला राजनीतिमा आइपुग्दा तिवारी परिवारका अधिकांश कांग्रेस समर्थक बन्न पुगे । पछि जागिरको सुरुवाती चरणमा विद्यालय शिक्षकको रुपमा तनहुँमा अध्यापन गरे यी तिवारी भाइहरुले । त्यहाँ पनि कांग्रेस भएकै कारणले विभिन्न भुक्तमान सहनुपर्‍यो । जे भएपनि परिवर्तन र विकासप्रतिको अठोट कांग्रेससँगै अगाडि बढ्यो । ठूलो तिवारी परिवार यही विश्वास र परम्पराले धानिँदै गयो ।


सामाजिक सेवामा योगदानः


विसं २०३३ सालमै लामास्वाराँको भानेचौतारामा पुस्तकालय स्थापना हुन्छ । गाउँमा कांग्रेस, कम्युनिस्ट जुन विचारधारामा भएपनि परिवर्तनका पक्षपातीहरू यस महत्वपूर्ण कार्यमा जोडिएका रहेछन् । समाजसेवी चन्द्रकान्त ढकाल, त्यतिवेला कम्युनिस्ट विचार राख्ने रविमोहन भण्डारी लगायतकाले विभिन्न खाले पुस्तक सहयोग गरेको स्मरण गर्दछन् तिलक प्रसादका भाई विष्णुप्रसाद तिवारी, जो निवृत्त शिक्षक पनि हुन् ।

स्वतस्फूर्त रूपमा यो पुस्तकालय एउटा अभियानका रूपमा चलिरहेकै थियो । यसपछि विसं २०३९ सालतिर कास्की जिल्ला प्रशासनमा तिवारी आत्मोन्नति समाज नामको संस्था गठनार्थ निवेदन पेस हुन्छ । यसै त मुसुरी हिङले झानेको ! पञ्चायती राज्यव्यवस्था छँदै थियो । कांग्रेसी ट्याग लागेकाहरु संस्था खोल्ने भन्छन् । यो पक्कै कांग्रेसी गतिविधिलाई बढावा दिने संस्था खोल्न लाग्या हुन भन्ने लख काटे प्रशासनमा । धेरै धपडी र उल्झनपछि संस्था दर्ता भएरै छाड्यो ।

निस्वार्थ कर्मले सानो झिल्कोको रूपमा पनि ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना तिलक तिवारीको जीवन र योगदानले देखाउँछ

त्यही तिवारी आत्मोन्नति समाजका संस्थापक अध्यक्ष हुन् तिलकप्रसाद तिवारी र उनीलाई सहयोग गर्न आइपुगे सचिवको रूपमा डिल्लीराम तिवारी, कोषाध्यक्षको रूपमा सोमलाल तिवारी र अन्य दाजुभाइहरु । आत्मोन्नतिसँगै सामाजिक कर्मलाई अगाडि बढाउने चेतनासँगै खुलेको यो संस्थाले महिला सशक्तीकरणका कार्य पनि सँगै लानुपर्छ भनेर समाजकै संस्थापक सदस्य प्राडा ईन्द्रप्रसाद तिवारीले तिवारी आत्मोन्नति समाज अन्तर्गत रहने गरी पछि आफ्नो दिवंगत आमाको नाममा यशोदा तिवारी ट्रस्ट पनि स्थापना गरेका छन् ।


तिवारी आत्मोन्नति समाज मर्दा पर्दा गाउँठाउँमा अघि सर्ने त भइगयो, दैवीप्रकोप उद्धार र अन्य सामाजिक सुधारका कार्यहरू गर्दै आईरहेको छ । पछिल्लो समयमा केही गतिविधि सुस्ताए पनि स्वंय पंक्तिकारसँग पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिनको वार्षिक कार्यक्रममा समाजका उत्कृष्ट छात्र छात्रा सम्मानमा सम्मानित भएको अनुभव रहेको छ । यो पुरस्कारमात्र नभएर अग्रजको प्रेरणा पुस्तान्तरणको बाटो भएको अनुभूति पंक्तिकारसँग छ । यस्ता कार्यक्रममा पुरस्कृत भएका छात्र/छात्राहरु शिक्षा र पेशागत संलग्नता अब्बल रहँदै आएका छन् ।

शिक्षाप्रतिको यो पारिवारिक मोह र प्रोत्साहन आफैंमा रोचक रहने नै भयो । यतिमात्र नभएर विवाहलाई छरितो बनाउने, सामूहिक बरतबन्ध गराउने लगायत १३ औं दिनको शुद्धाशुद्धि संस्कारलाई बोझिलो नबनाउन नेतृत्व आफैंले शुरुवात गरेको राम्रो उदाहरण थियो समाजको । वार्षिक रूपमा रक्तदान गर्ने संस्कृतिनै सुरुवात भएको थियो भन्न सकिन्छ यो भेकमा । अस्पतालको शड्ढयामा वेसाहरा भएर रहेका परिवारभित्र र बाहिरका व्यक्तिहरूलाई गर्ने सरसहयोग पनि लोभलाग्दो नै थियो । यसरी गोलबद्ध भएर अन्य सामाजिक संघसंस्था मिलेर गरेका कार्यहरू प्रशंसनीय छन्, एउटा सामाजिक सेवाको विरासत कायम भएको देखिन्छ, यद्यपि त्यो रफ्तार र गति भने यतिबेला रहेको छैन ।


एउटा दियोले अर्को दियो बाल्छ, त्यसैगरी एउटा व्यक्तिको समाज सेवा अर्को व्यक्तिका लागि प्रेरणा बन्न सक्दछ । स्वर्गीय तिलकप्रसाद तिवारीले लायन्स क्लब लगायत अन्य संघ संस्थामा लागिरहँदा टड्कारो रूपमा उठाएको विषय हो हाल पोखरा ३० मोहोरिया आँपडाँडामा सामुदायिक अस्पताल निर्माण गर्ने । बढ्दो आवास र जनघनत्वलाई मध्यनजर गरी विसं २०५५/०५६ सालतिर परिकल्पना गरिएको यो अस्पताल हाल प्रादेशिक सरुवा रोग अस्पतालको रूपमा उभिएको छ । कुनै कर्म हुन भन्दा अगाडि विचार आउँछ । यो अस्पतालको विचार विजारोपण गर्ने श्रेय स्व. तिवारीलाई जान्छ भनेर त्यतिवेलादेखि यहीँ सामाजिक क्षेत्रमा निरन्तर लागिरहेका व्यक्तित्वहरू चन्द्रकृष्ण कर्माचार्य, चतुराखर अधिकारी, गोविन्द कर्माचार्य र डा. कालु शर्माहरू स्मरण गर्छन् ।


हामीले समाजको हितका लागि गरिएको कर्म, निस्वार्थ सेवा, वा अन्य व्यक्तिहरूलाई सकारात्मक रूपमा प्रभावित गर्ने कार्यको फल निस्प्रभावी भने हुँदैन । र सेवा सानो, ठुलो भन्ने पनि हुँदैन यदि यो सकारात्मक उर्जाले भरिएको छ भने । त्यस्तो हुन पनि सक्छ कुनै वेला परिवारका सदस्यले, गाउँका केही मानिसहरुले उनलाई व्यर्थमा समय र धन खेर फालेको भनेर आलोचना गरेको । तर कुन सोच र दृढताका साथ व्यक्ति लागिरहन्छ भन्ने हो । मलाई लाग्छ स्व. तिवारीले कुनै परवाह गरेनन्, बरु उनी झनै उत्साहित भएर आफ्नो सामाजिक सेवाको कर्ममा लागिरहे ।

समाजको उत्थानका लागि, परिवर्तनको लागि गरिएको योगदान कहिल्यै खेर जाँदैन । निस्वार्थ भावनाले गरिएको सेवा एक दिन ठूलो परिवर्तन ल्याउन सक्ने हुन्छ । समाज सेवाको सानो झिल्कोले नै ठूलो परिवर्तनको सुरुवात गर्न सक्छ । समाज सुधारका लागि निरन्तर कर्म गर्नु नै साँचो नैतिकता हो, एकथान जिन्दगी इमान्दार भएर बाँच्ने कुरा हो । मरेर लाने त केही पनि होइन रहेछ ! ‘आखिर मरेपछि के हुन्छ?’


विभिन्न धर्म, संस्कार अनुसार यसको आ–आफ्नै व्याख्या, पुनः व्याख्या हुन्छ । कसैले मृत्युपछि आत्मा जीवित रहने बताएका छन् भने कसैले सम्पूर्ण कुरा शरीरसँगै नष्ट हुने भनेका छन् । जीवनको उत्तरार्धमा पक्षघात भएर विस्तारामै थलिएका तिवारीले पोखरा महानगरपालिका ३० मोहोरियामा स्थित घरमा परिवारकै बीचमा अन्तिम सास फेरे, हिन्दु परम्पराअनुसार सेती नदी तटको मदौरेघाट नर्मदेश्वर मोक्षधाममा परिवार र आफन्तजनले अन्तिम विदाई गरे, नश्वर चोलालाई दनदनी बलेको आगोले निल्यो, क्षणभरमै खरानी भयो ।

परलोक छ छैन? परलोकको बारेमा ठ्याक्कै यस्तै छ भनेर कोही बताउन आएको पनि छैन । विगतमा गरेको कार्यको वर्तमानमा लेखाजोखा पक्कै हुन्छ जहाँ, जसरी, जसो भएपनि समाज सेवामा स्व. तिलकप्रसाद तिवारीले छोडेको पदचापलाई पछ्याउने र ‘तिलक’ नामको अर्थ जस्तै गरी सदैव शीरमा सजाउने प्रेरणा मिलिरहोस्, भौतिक शरीर हामीमाझ नभए पनि सेवाको सुगन्ध फैलिरहोस्, आज माघ १९ गते १३ औं दिनको पुण्य तिथिमा हार्दिक श्रद्धा सुमन !

तपाईको प्रतिक्रिया