चौतारा मुठुर्‍याउनेलाई कारबाही गर्ने, कोटिहोम गर्न पोखरामा अनुमति नभएको मेयर आचार्यको भनाइ

समाधान संवाददाता २०८१ माघ १९ गते १४:४५

पोखरा

Advertisement

पोखरा महानगरपालिकाले अत्यन्तै जरुरी सार्वजनिक सूचना जारी गर्दै, कोटिहोमका नाममा अनुमति बिना सयौं वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरूको जथाभावी कटान गरिएको गुनासो प्राप्त भएको जनाएको छ।

महानगरपालिकाले अनधिकृत रूपमा रुख कटान गर्ने कार्य कानूनी दृष्टिले दण्डनीय हुने भएकोले, यस कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारवाही गरिने जनाएको छ । यस विषयमा सम्पूर्ण नगरवासीलाई ऐतिहासिक चौतारी र रुख विरुवाहरूको संरक्षणमा प्रतिवद्ध बन्न अनुरोध गरिएको छ।

Advertisement

महानगरपालिकाले अनुगमन कार्यलाई तीव्र पार्दै, काटिएका रुखहरूको विवरण संकलन गर्ने र अनधिकृत रुपमा रुख कटानमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्दै कानूनी प्रक्रिया अघि बढाउने कुरा पनि सूचित गरेको छ।

मानव सेवा फाउण्डेशनले आगामी वैशाखमा पोखरा-६ लेकसाइडमा महायज्ञ गर्ने र महायज्ञका लागि दाउरा चाहिने भन्दै फाउण्डेशनले धमाधम रुख काटेको स्थानीय बासिन्दाले बताएका छन् ।

Advertisement

यसै क्रममा, पोखराका मेयर धनराज आचार्यले फेसबुकमा एक स्टाटस लेख्दै माछापुच्छ्रे हिमालको कालोपन र तापमानको वृद्धि प्रति चिन्ता व्यक्त गरेका छन्। उनले पोखरा महानगरपालिकाले २ लाख २६ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको जानकारी दिएका छन् ।

मेयर आचार्यले भनेका छन्, “पोखराका सार्वजनिक चौतारी र अन्य स्थानमा सयौं वर्ष पुराना वर, पीपल, र स्वामीका रुखहरूको निर्मम काटनाले वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्‍याउँछ। यसबाट उत्पन्न हुने समस्यामा स्थानीय प्रशासन र महानगरपालिकाले कुनै कोटिहोम आयोजना गर्न अनुमति दिएको छैन।”

पोखरा महानगरपालिकाले सबै नागरिकलाई सार्वजनिक स्थलहरूमा बिरुवा रोपणको अभियानमा सहभागी हुन र रुख कटानको घटनालाई गम्भीरतासाथ लिन अनुरोध गरेको छ।

महानगरपालिका र स्थानीय प्रशासनले यस समस्यालाई समयमै समाधान गर्दै, नगरवासीको सक्रिय सहभागिता सुनिश्चित गर्ने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया