सराङकोटमा फागुन १४ देखि धार्मिक पर्यटन महोत्सव

समाधान संवाददाता २०८१ माघ २१ गते ५:३७

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटमा यही फाल्गुन १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव हुने भएको छ । धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित सराङकोटलाई धामका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

Advertisement

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको अगुवाइमा पञ्चमुखी गणेश, विशाल शिव मन्दिर, भ्यु टावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवन समेतको शिवरात्रिका दिन उद्घाटन गरिने छ ।

धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्यले त्यस क्षेत्रलाई एक पवित्र धामका रूपमा विकास गर्न लागिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । पर्यटनको राजधानी पोखरा सबै हिसाबले पर्यटनमैत्री बन्दै सोही अनुरूपका पूर्वाधारहरू समेत निर्माणमा जोड दिइएको उनले बताए ।

महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्ति भाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने छ । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया