प्रेमका अक्षरहरु

प्रमिला कुँवर २०८१ माघ २१ गते १३:२३

कति अमूल्य हुन्छन् ती भावनाहरु जसलाई शब्द मार्फत व्यक्त गरिन्छन् । ती शब्दहरुले आत्मालाई छुँन्छन्, गहिरो संवेदनाको तरंग उत्पन्न गर्छन्, जब तिनीहरु कविता, कथा वा लेखमा जीवन्त रुपमा वर्णन गरिन्छन् । साँच्चै, कति भाग्यमानी हुन्छन् उनीहरु, जसको लागि शब्दहरु कोरिन्छन्, भावना बुनिन्छन्, र भावनाका चित्रहरु सिर्जना गरिन्छन् ।

Advertisement


लेख अक्षरहरुको संयोजन मात्र होइन, यो मनको आवाज हो, अनुभूतिको अभिव्यक्ति हो । यसमा आत्मा बोल्छ, हृदय बग्छ, र संवेदनाहरु चित्रित हुन्छन् । हरेक अक्षरले एउटा भावना बोल्छ, हरेक लाइनले एउटा कथा बुन्छ । लेखाइमा माया, समर्पण, र आत्मीयता मिसिन्छ, जुन बोलेका शब्दहरुले प्रायः व्यक्त गर्न सक्दैनन् ।


मेरो पनि रहर छ—कसैले मेरो आत्माको गहिराइलाई शब्दमा उतारिदियोस्, मेरा अस्तित्वका रङहरुलाई कविताको चित्र बनाएर संसारलाई देखाओस् । जसले मभित्र लुकेका सपनाहरु पढोस्, मेरा मौनताहरुलाई सुन्न सकोस्, अनि ती मौनतालाई शब्दको संगीतमा बदलोस् । मेरा गुम्सिएका अनुभूतिलाई कविताको आवाज देओस् जसले मेरा अनुत्तरित प्रश्नलाई उत्तरका रूपमा बुनिदियोस्, अनि मेरा अधूरा भावनालाई पूर्णतामा ढालिदियोस् ।


हातले लेखिएका पत्रको चाह छ, जहाँ हर अक्षरले उसलाई महसुस गर्न सकूँ । तर अहिले यस्तो प्रेम कसैले देखाउँदैन । मेरो चाहना छ— त्यो पुरानो प्रेम जस्तै, जहाँ बोली होइन्, शब्दहरुले सम्बन्धको गहिराइ बोलुन् । जहाँ ‘माया’ केवल बोलीको कुरा होइन, हृदयले अनुभूत गर्ने कुरा हो ।


मेरो हृदय भने २० औं शताब्दीमा अडिएको छ । मलाई त्यस्तो प्रेम मन पर्छ, जुन स्वार्थरहित होस्, जहाँ मन साँचो होस्, गलत नियतको कुनै स्थान नहोस् । त्यो पुरानो समयको सुगन्ध बोकेको, जहाँ मनका शब्दहरू कागजमा झर्छन्, आत्मीयता बोकेर ।
कति अनमोल लाग्छन् हातले लेखिएका पत्रहरु । सायद म समयको भुलभुलैयामा हराएकी छु । प्रेम हरेक युगमा विशेष हुन्छ तर मलाई ९० को दशकको प्रेम बढि विशेष लाग्छ । त्यो बेलाका प्रेम वास्तविक लाग्छ । त्यति बेलाका प्रेम व्यक्त गर्ने माध्यम, पलले मनमा गहिरो छाप छोडेको छ । ९० को दशकमा प्रेमको मिठास, प्रतीक्षा, र इमान्दारी बढी महत्वपूर्ण मानिन्थ्यो ।

Advertisement

हरेक अक्षरले एउटा भावना बोल्छ, हरेक लाइनले एउटा कथा बुन्छ । लेखाइमा माया, समर्पण, र आत्मीयता मिसिन्छ, जुन बोलेका शब्दहरुले प्रायः व्यक्त गर्न सक्दैनन् ।


कल्पनामै भए पनि त्यो संसारमा रमाउन चाहन्छु । हातले लेखिएको एउटा प्रेम–पत्र, जसमा मुटुको प्रत्येक धड्कन समेटिएको छ । सानो कागजको टुक्रामा पोखिएका भावना, अक्षर–अक्षरमा प्रेमको सुगन्ध मिसिएको पत्र, जुन लुकीलुकी पढ्दा मनभरि मुस्कान छाउँथ्यो । पत्रको जवाफको प्रतिक्षामा बित्ने सुनौला पलहरु । पत्रका हरफ, प्रतीक्षाका मिठा क्षण, र आँखाले बोलेका व्यक्त गर्न नसकिएका भावनाहरुमा आफूलाई हराउन मन छ ।


एउटा पत्र, एउटा कविता, एउटा क्षण यो नै मेरो लागि साँचो प्रेमको परिभाषा हो । चिठ्ठीको प्रत्येक पंक्तिमा कोरेका भावनाहरू, कविताको हरेक हरफमा पोखिएका माया—यिनै हुन् सम्बन्धलाई गहिरो बनाउने आधार । आधुनिक युगले लेखाइलाई बेवास्ता गरे पनि यसको महत्व कहिल्यै घट्दैन । शब्दको गहिराईमा झल्किएको हुन्छ प्रेमको गहिराई । डिजीटल युगमा प्रेम पलभरमै हराउँछ । जति छिटो प्रेम हुन्छ त्यति छिटो बिलाउँछ ।


मलाई कविता लेख्न, डायरी लेख्न मनपर्छ । अक्षरहरुकै सँगालोमा म आफ्नो भावना पोख्न सक्छु । मलाई हातले कोरिएका पत्र मनपर्छ । म एक्काइसौं शताब्दीको को केटी भए पनि । म सक्छु कसैको लागि प्रेमपत्र लेख्न कविता कोर्न वा लेख लेख्न तर जसको लागि लेख्न चाहन्छु उसले भन्दैन लेख भनेर । उसको बारेमा अक्षरहरु बुन्न सक्छु । शब्दको गहिराई बुझ्ने क्षमता छैन वा शब्द केलाएर बस्ने फुर्सद छैन उसमा । किन कसैलाई कविता मन पर्दैन ? किन कसैले लेखको गहिराइ बुझ्दैन ? मेरा लागि शब्दहरू भावना पोख्ने माध्यम हुन् । तर, मलाई यो सोच्दा अचम्म लाग्छ—किन कसैले मेरो लागि “मेरो बारेमा लेख“ भन्दैन ? मलाई कसैले “मलाई कविता लेख“ भनेर किन अनुरोध गर्दैन ? सायद उसको लागि लेखाइको महत्व छैन ?


सायद अहिलेको समयमा मानिसहरु लेखिएका शब्दहरूको मर्म बुझ्दैनन् । लेखाइभित्रको भावना बुझ्न समय र मन दुवै चाहिन्छ, जुन आजको द्रुत गतिमा चलिरहेको संसारमा बिरलै भेटिन्छ । अहिलेका मानिसहरूलाई छिटो बोलेर सकिने संवादले सहज लाग्छ, जहाँ भावना भन्दा पनि कार्य पूरा गर्ने हतार हुन्छ । उनीहरुलाई अक्षरहरुभन्दा पनि छिटो बोलेर सकिने संवाद मन पर्छ । तर म, माया र सम्बन्धका लागि, अझै पनि लेखाइको गहिराइलाई महत्व दिन्छु । सायद मेरो भावना पुरानो जमानाको होला तर म शब्दसँग प्रेम गर्छु र सधैं गरिरहने छु ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया