नेपाली कांग्रेसको मार्गदर्शन: प्रजातान्त्रिक समाजवाद र समृद्धिको दिशा


नेपाली कांग्रेसलाई बलियो र समृद्ध बनाउने उद्देश्यका साथ यसको विचारधारा र सिद्धान्तलाई आत्मसात् गर्दै अगाडि बढ्न आवश्यक छ। कुनै पनि राजनीतिक पार्टीको आत्मा भनेको सो पार्टीको विचारधारा र सिद्धान्त हो। यी दुई तत्वहरूले पार्टीको पहिचान, उद्देश्य र दिगो सफलताको आधार निर्माण गर्छन्। विचारधारामा आधारित राजनीतिक पार्टीले मात्र जनता र देशको आवश्यकतालाई सही ढंगले सम्बोधन गर्न सक्छ।
नेपाली कांग्रेसको विचारधारा भनेको प्रजातान्त्रिक समाजवाद हो। महामानव बीपी कोइरालाले सरल भाषामा भन्नुभएको छ—प्रजातान्त्रिक समाजवाद भनेको गाउँ हो, गाउँ जनताको ओठमा देखिने हाँसो, खुशी र समृद्धि हो। यो कसरी प्राप्त गर्ने भन्ने यो एउटा अहम प्रश्न हो। यसको उत्तर खोज्न पार्टीले स्पष्ट लक्ष्य, योजना र त्यसको कार्यान्वयन प्रतिको भरोसा देखाउनुपर्छ।
बीपीले प्रजातान्त्रिक समाजवाद प्राप्त गर्न मुलुकभित्रै पर्याप्त उत्पादन हुनुपर्ने, त्यसको विवेकपूर्ण तथा न्यायोचित वितरण हुनुपर्ने स्पष्ट रूपमा बताउनुभएको थियो। तर पनि हामी त्यसतर्फ इमानदार हुन सकेका छैनौँ। बरु, प्रजातान्त्रिक समाजवाद समयसापेक्ष छैन भनेर पुनर्व्याख्या गर्ने नाममा यसको लक्ष्यबाट टाढा भाग्ने सजिलो उपाय खोजिरहेका छौँ। हामीले बीपीको विचारलाई समयसापेक्ष बनाउन खोज्नु स्वाभाविक हो, तर त्यसको वास्तविक मर्मलाई बिर्सनु गम्भीर त्रुटि हुनेछ।
बीपीको ‘हलो गोरु’ भनेको उत्पादनको प्रतीक हो, उत्पादनमा जोड दिनुपर्छ भन्ने महान सन्देश हो। मेहनत र लगनशीलताको महत्त्व उजागर गर्दै आत्मनिर्भर अर्थतन्त्रको सम्भावना र गरिमालाई झल्काउने संकेत हो। बीपीले ‘केटा(केटीलाई पढ्ने स्कूल होस्’ भन्नु भएको अर्थ केवल जागिर खाने विद्यार्थी निर्माण गर्नु मात्र थिएन, चेतना र विवेक निर्माण गर्नु मुख्य लक्ष्य थियो। उहाँले ‘मानिस ठूलो होइन, असल हुनुपर्छ’ भनेर दिएको सन्देशले विवेकमा आधारित समुन्नत समाज निर्माणको परिकल्पना झल्काउँछ।
यस महान सपनालाई पूरा गर्न भाषण वा लेखमार्फत मात्र सम्भव छैन। समाजवादप्रति हाम्रो प्रतिबद्धता के हो, नेपाली कांग्रेस समाजवादी पार्टी हो भन्ने कुरा जनता कसरी बुझ्छन् ? यी प्रश्नहरूको स्पष्ट उत्तर दिनु आवश्यक छ। नेपाली कांग्रेसलाई उत्पादन र उद्यमशीलतासँग जोड्नु आवश्यक छ।
नेपाली कांग्रेसको कार्यदिशा
१ समृद्धिका लागि उद्यमशीलता अभियान
नेपाली कांग्रेसले आफूलाई सबैभन्दा ठूलो, पुरानो र ऐतिहासिक पार्टीको रुपमा दावी गर्ने हो भने यसले सञ्चालन गर्ने अभियानहरु पनि अरु पार्टीहरुको भन्दा फरक, प्रभावशाली र प्रेरणादायी हुनुपर्छ। नेपाली कांग्रेसले समृद्धिका लागि निम्न उद्यमशीलता अभियानहरु सञ्चालन गर्नु आवश्यक छ:
क राजनीतिक उद्यमशीलता
ख हरित उद्यमशीलता
ग डिजिटल उद्यमशीलता
घ विचार उद्यमशीलता
यी अभियानहरुले परम्परागत सत्ता(केन्द्रित सोचबाट बाहिर निकालेर, वातावरणमैत्री उत्पादन र आयमूलक कार्यक्रमहरूमा जोड दिन्छन्।
२ बीपी शिक्षा पहिला
कुनै पनि पार्टीले आफ्नो लक्ष्य प्राप्तिका निम्ति आवश्यक पर्ने उच्च कोटीको राजनीतिक चेतना निर्माण गर्नुपर्छ। नेपाली कांग्रेसको आर्थिक नीति प्रजातान्त्रिक समाजवाद हो भने यसको प्राप्तिका लागि उच्च प्राथमिकता दिनुपर्छ। बीपी शिक्षाको सार उत्पादन, उद्यमशीलता र विवेकको संयोजन हो। यसैका आधारमा नेपाली कांग्रेसले आफ्नो नीति निर्माण गर्नुपर्छ।
३ डिजिटल डेमोक्रेसीको प्रयोग
आजको डिजिटल युगमा भौतिक सभा समारोह मात्र पर्याप्त छैनन्। राजनीतिक प्रभाव अब अनलाइन प्लेटफर्महरूमा आधारित हुन थालेको छ। नेपाली कांग्रेसले डिजिटल मिडिया, भर्चुअल क्याम्पेनिङ, इ(गभर्नेन्स, ब्लकचेन प्रविधिको उपयोग गर्दै आफ्नो संगठनलाई डिजिटल मैत्री बनाउनुपर्छ। पार्टी संगठन, नीति निर्माण, सञ्चार र चुनावी अभियानलाई अनलाइन प्रविधिको उच्चतम प्रयोगद्वारा अघि बढाउनुपर्छ।
४ अनुशासनलाई लक्ष्य र उपलब्धिको पुल बनाऔँ
अनुशासनबिना कुनै पनि राजनीतिक दल सुदृढ हुन सक्दैन। पार्टीभित्र गलत अभ्यासहरूलाई निरन्तर माफी दिने प्रवृत्तिले पार्टी कमजोर बनाएको छ। गल्तीलाई क्षमा दिनु महानता हो, तर अपराधलाई क्षमा दिनु कायरता हो। पार्टीभित्र अनुशासन कायम गर्दै, अन्तर्घात रोक्दै, राजनीतिक स्थिरताको सुनिश्चितता गर्नुपर्ने देखिन्छ।
५ प्रजातान्त्रिक समाजवादको पुनस्स्थापना
नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई व्यवहारिक रूपमा पुनस्स्थापना गर्नुपर्ने देखिन्छ। उत्पादन, उद्यमशीलता र विवेकको संयोजनमार्फत जनता समक्ष ठोस परिवर्तन ल्याउनु आवश्यक छ। पार्टी नेतृत्वले समाजवादी सोचलाई व्यवहारिक रुप दिन नीतिगत सुधारका साथ ठोस कार्यान्वयन गर्नुपर्छ।
निष्कर्षः
नेपाली कांग्रेसले पार्टीलाई बलियो बनाउन आफ्नो मूल विचारधारालाई सुदृढ गर्दै, समृद्धिका लागि उद्यमशीलता अभियान सञ्चालन गर्दै, बीपी शिक्षाको सिद्धान्त आत्मसात् गर्दै, डिजिटल प्रविधिको उपयोग गर्दै, अनुशासनलाई बलियो बनाउँदै र समाजवादलाई व्यावहारिक रूपमा स्थापित गर्दै अघि बढ्नुपर्ने देखिन्छ। यही सोचका साथ, नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ।
(नेपाली कांग्रेस नीति तथा प्रशिक्षण विभागले ७५ जिल्लाका सभापति एवं प्रशिक्षण विभाग प्रमुखका लागि मंगलबार पोखरामा भएको अभिमुखीकरणमा कांग्रेस कास्की सभापति बरालको स्वागत मन्तव्यको सम्पादित अंश ।)
तपाईको प्रतिक्रिया