मुस्ताङमा १६ जिल्लाका प्राविधिकलाई उच्च घनत्वमा स्याउ खेती प्रविधि तालिम

जोमसोम । मुस्ताङमा उच्च घनत्वमा आधारित स्याउ खेतीसम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ। शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले आयोजना गरेको उक्त तालिममा मुस्ताङसहित १६ जिल्लाका १८ जना कृषि प्राविधिक सहायक तथा नायब प्राविधिक सहायकहरूले उत्साहजनक सहभागिता जनाएका छन्।
संघ, प्रदेश, र स्थानीय तहका प्राविधिक सहायक तथा नायब प्राविधिक सहायकहरूको उच्च घनत्वमा आधारित स्याउ खेतीसम्बन्धी प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले यस्तो तालिम उपलब्ध गराएको हो। आइतबारदेखि सुरु भएको तालिममा मुस्ताङसहित मनाङ, दोलखा, डोल्पा, जुम्ला, पाल्पा, प्युठान, बागलुङ, म्याग्दी, सिन्धुपाल्चोक, नुवाकोट, सल्यान, दार्चुला, बैतडी, दैलेख, र तनहुँ जिल्लाका प्राविधिक सहायक तथा नायब प्राविधिक सहायकहरू सहभागी भएका छन्। तालिममा दोलखा र डोल्पाबाट दुई-दुई जना तथा अन्य जिल्लाबाट समान रूपमा एक-एक जना प्रतिनिधित्व रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए।
मुस्ताङस्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीसम्बन्धी प्रविधिहरू देखाउने, सिकाउने तथा उत्पादनका लागि आवश्यक गुणस्तरीय विरुवा उत्पादनका प्रविधिहरूको व्यावहारिक ज्ञानसिपका साथै सैद्धान्तिक शिक्षा प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको केन्द्र प्रमुख आत्रेयले बताए। तालिमको संयोजकका रूपमा शीतोष्ण बागवानी विकास केन्द्रमा कार्यरत प्राविधिक सहायक डम्बर सार्की खटिएका थिए। प्रशिक्षार्थीहरूलाई अधिकतम रूपमा व्यावहारिक अभ्यास गराइएको प्रमुख आत्रेयले खुलाए। तालिममा ६० प्रतिशत व्यावहारिक र ४० प्रतिशत सैद्धान्तिक कक्षा सञ्चालन गरिएको थियो। प्रमुख आत्रेयका अनुसार यस तालिमले नेपालमा उच्च घनत्व स्याउ खेतीको विकास र प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।
विश्वभर उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती करिब सन् १९६० देखि सुरु भएको हो। नेपालमा भने यस्तो प्रविधिको स्याउ खेतीको इतिहास खासै पुरानो छैन। प्रारम्भिक परीक्षणका रूपमा मनाङ एग्रोले मनाङमा उच्च घनत्वमा स्याउ खेती गरेको थियो। मनाङमा गरिएको परीक्षणको नतिजा राम्रो देखिएपछि मुस्ताङसहित अन्य हिमाली जिल्लाहरूमा पनि विस्तार गरिएको हो। मुस्ताङमा यो प्रविधि अपनाउन थालेको भने आधा दशकभन्दा बढी भएको छैन। लगाएको पहिलो वर्षमै फल दिन सुरु गर्ने उच्च घनत्वका विरुवाहरू कम क्षेत्रफलमा धेरै विरुवा रोप्न सकिने भएकाले यसको लोकप्रियता बढ्दै गएको छ।
मुस्ताङमा निजी जग्गाका साथै सार्वजनिक जमिन र कालीगण्डकी तटीय बगरमा समेत उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ। पछिल्लो समय मुस्ताङका किसानहरूले परम्परागत स्याउ खेतीलाई निरन्तरता दिँदै उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीलाई विशेष प्राथमिकता दिन थालेका छन्।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया