सम्पादकीय—चौतारी जोगाऊँ

हालै पोखराको विभिन्न स्थानहरुमा चौतारीका रुखहरु काटिएको समाचारले शहरका सांस्कृतिक धरोहरको संरक्षणमा खतराको संकेत दिएको छ । पोखरा चौतारीहरुको पनि सहर हो । पोखरी र खुला चौर अर्थात पाटनहरुको सहर हो । तर ती हराउँदै गएका छन् । झन् बाँकी चौतारी पनि काटिनु ठूलो बिडम्वना हो । चौतारी र वर–पीपलका रुखहरू समुदायको एकता र धार्मिक मान्यतासँग गहिरो सम्बन्ध राख्छन् । र हाम्रो सहरका पहिचान पनि हुन् । प्राकृतिक सम्पत्ति हुन् ।
वातावरणीय मूल्यका हिसाबमा पनि महत्वपूर्ण सम्पदा हुन् । यो साता पोखरा १४ मझेरीपाटन क्षेत्रमा ७ वटा रुख जथाभावी काटिएका थिए, जसका कारण मात्र वातावरणीय असर भएको छैन, सांस्कृतिक धरोहरमा पनि क्षति पुगेको छ । धार्मिक कोटिहोम गर्ने हेतुले रुख काटिएको भन्ने समाचार झन् दुखद हो । किनभने मानवीय पुण्यका लागि गरिने भनिएको कोटिहोममा होम गर्नकै लागि रुख र त्यसमाथि पोखराको सौन्दर्यपूर्ण चौताराहरु मुठुर्याउनु अपराधै हो ।
गण्डकी प्रदेश सरकारले २०७८ मा लागु गरेको ‘वर–पीपल संरक्षण ऐन’ले रुखहरूको अनधिकृत अतिक्रमण र कटान रोक्नका लागि कानुनी व्यवस्था गरेको हो । त्यस ऐनअनुसार नै रुख काट्नेहरुमाथि कानुनी कारबाही गरिनुपर्छ । महानगरपालिकाका वडाहरुले नै चौतारी काट्न अनुमति दिएर गम्भीर भूल गरेका छन् । खासमा ती चौतारी संरक्षण तिनीहरुको जिम्मेवारी हो । पोखरा सहरका चौतारी र वर–पीपलका रुखहरूको संरक्षण केवल ऐतिहासिक धरोहरको रक्षा मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानको रक्षा पनि हो ।
विकासका नाममा होस् या अरु कुनै पनि बहानामा यी सांस्कृतिक धरोहरको अनावश्यक क्षति रोक्न कडाइका साथ कानुनको पालना गर्नु अत्यन्त आवश्यक छ । महानगरपालिकाले त झन् हरियाली सहर बनाउने योजना बनाएको छ । लाखौं रुख रोप्ने भनेको छ । हिजोका दिनमा जहाँजहाँ चौतारीहरु थिए, तिनलाई ब्युँताउनुपर्छ । त्यहीं त्यहीं महानगरपालिकाले वरपीपलका रुख रोप्नुपर्छ । पुराना चौतारी भएका स्थानको खोजी गरी सार्वजनिक स्थलको संरक्षण गर्नु महानगरपालिकाको दायित्व हो । हो, चौतारीहरुको पुनस्थापना गरी महानगरले आफ्नो सहरको पहिचानलाई पुनर्जीवन दिनुपर्छ । चौतारीहरुले हामीलाई छहारीसँगै प्राणवायु पनि दिन्छन्, हरियाली दिन्छन्, सौन्दर्यका लागि गहना बनिदिन्छन् र सहरको पहिचान उचो बनाउँछन् ।
तपाईको प्रतिक्रिया