स्वास्थ्यकर्मी हटाउने पोखरा महानगरपालिकाको निर्णयविरुद्ध स्वास्थ्यकर्मी महासंघको आपत्ति

पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले पोखरा महानगरपालिकाको निर्णयविरुद्ध आपत्ति जनाउँदै सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूको करार सम्झौता नवीकरण नगर्ने निर्णय गलत भएको जनाएको हो।
महासंघका अनुसार महानगरपालिकाको निर्णयले पोखराका १४ स्वास्थ्य संस्थामा सेवा प्रवाहमा असर पर्नेछ। स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको करार नवीकरण नगर्नु वैकल्पिक व्यवस्था नै नगर्ने निर्णयप्रति महासंघले असन्तोष जनाएको छ।
स्वास्थ्यकर्मी महासंघले नेपाल सरकारद्वारा सञ्चालित HPV खोप अभियान, संक्रामक रोग नियन्त्रणसम्बन्धी व्यवस्था तथा नागरिक स्वास्थ्य सेवामा असर पर्ने उल्लेख गरेको छ।
यसअघि १९ जना स्वास्थ्यकर्मीले करार सम्झौता नवीकरण गराउन सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्चका प्रधान न्यायाधीशको एकल इजलासले पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरिसकेको अवस्थामा महानगरले आफ्नो निर्णय सच्याउनुपर्ने महासंघको माग छ।
महासंघले अविलम्ब निर्णय सच्याउन आग्रह गर्दै पोखरा महानगरपालिकाले अटेर गरे महासंघ चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया