क्यान्सर दिवसमा स्वास्थ्य शिविर

समाधान संवाददाता २०८१ माघ २३ गते २०:२०

पोखरा । विश्व क्यान्सर दिवसको अवसरमा अर्वुद रोग निवारण संस्था कास्की र आँगन बहुउदेश्यीय सहकारी संस्थाले संयुक्त रूपमा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोगको निशुल्क परीक्षण शिविरको आयोजना गरेका छन् ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ छममाया पुनको नेतृत्वमा टोलीले १०० जना महिलाको स्वास्थ्य परीक्षण गरेको शिविरमा सहभागीहरूको समस्याको पहिचान गरी आवश्यकता अनुसार निशुल्क औषधि वितरण तथा थप उपचारका लागि रिफर गरिएको थियो ।

कार्यक्रम उदघाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान्सर जस्तो प्राणघातक रोगको नियन्त्रणका लागि नियमित स्वास्थ्य जाँचको महत्वको चर्चा गरे । पाठेघरको मुखमा हुने क्यान्सरबारे पर्याप्त जानकारी नहुँदा लाखौं महिलाहरू पीडित भइरहेका तथ्यको उल्लेख गर्दै अध्यक्ष कार्कीले स्वास्थ्य शिविरको आयोजना गरेर आयोजक संस्थाले सराहनीय कार्य गरेको बताए । आयोजक संस्था आँगन बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण लामाले सहकारी संस्थाहरूले मात्र नियमित काममा ध्यान दिनु पर्ने होइन, सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने कुरामा जोड दिए ।

Advertisement

नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर निवारणका क्षेत्रमा सक्रिय रवि बराल, आँगन बहुउदेश्यीय सहकारी संस्थाका कोषाध्यक्ष मधुसुदन देवकोटा, रामप्रसाद वास्ताकोटी, झलक पोखरेल लगायतले क्यान्सर र अन्य रोगहरूको नियन्त्रणका लागि सबैले मिलेर काम गर्नुपर्ने कुरा अघि ल्याए ।

Advertisement

तपाईको प्रतिक्रिया