म्याग्दे गाउँपालिकाको आयोजनामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुँदै

समाधान संवाददाता २०८१ माघ २४ गते १२:२९

पोखरा । तनहुँको म्याग्दे गाउँपालिकाले प्रदेशभित्रको पालिकास्तरीय अध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । म्याग्दे गाउँपालिकाले फागुन १३ गतेदेखि २२ गतेसम्म फुटबल आयोजना गर्न लागेको हो । प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने २ टिमलाई १५ हजारका दरले पुरस्कार दिइने बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी पालिकाले जानकारी गराएको छ ।

Advertisement

उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । सोही अवसरमा जिल्लास्तरीय व्याडमिण्टन र वडास्तरीय भलिबल प्रतियोगितासमेत हुने अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । व्याडमिण्टन प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

फागुन १६ र १७ गते हुने प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने २ टिमले १० पाउने छन् । म्याग्दे गाउँपालिका वडास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजताले ५० हजार रुपैयाँ पाउने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि पालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पालिकाले पोखरामा पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी गराएको हो । प्रदेशभरीका खेलाडी सहभागी होउन् भनेर प्रचार गरिएको र प्रतियोगिताले स्थानीय र राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास गरिएको अध्यक्ष श्रेष्ठले बताए । फुटबल प्रतियोगिता म्याग्दे ५ छाङ पाटनको खेल मैदानमा हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया