अन्नपूर्ण गाउँपालिकामा पशु स्वास्थ्य शिविर

समाधान संवाददाता २०८१ माघ २४ गते २२:२२

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा बुधबार शिविर आयोजना भएको हो ।

Advertisement

अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा गाउँपालिकाको सहयोगमा शिविर भएको शिक्षालयका प्रमुख विकल अधिकारीले बताए । उनले आगामी दिनहरूमा शिक्षालयले किसान लक्षित कार्यक्रम आयोजना गरिने उल्लेख गरे ।

शिविरमा पशुपक्षीको स्वास्थ्य परीक्षण, औषधि वितरण, गोबर र थुनेलो परीक्षण, रेबिज विरुद्धको खोप, पशु बन्ध्याकरण लगायतका सेवा प्रदान गरिएको शिक्षालयका प्रशिक्षक आशिष अधिकारीले जानकारी दिए । शिविरबाट १५ सय पशुपक्षी र २ सय किसान लाभान्वित भएको पशुप्रशिक्षण सहायक प्रेम अधिकारीले बताए ।

Advertisement

कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकामा आयोजना गरिएको पशु स्वास्थ्य शिविरले किसानलाई सहयोग पुगेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रशिक्षकद्वय आशिष बस्यौला, पुरुषोत्तम काफ्ले, वडा नम्बर ४ का वडाध्यक्ष आइन्दल गुरुङ लगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा किसानहरूका लागि काउली, बन्दा र काक्रोको बेर्ना, बीउ समेत वितरण गरिएको बाली विज्ञान प्रशिक्षक कैलाश थापाले उल्लेख गरे । ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नाराका साथ २०७६ सालमा स्थापना भएको शिक्षालयमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी कृषि शिक्षा विषयमा अध्ययन हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया