‘ब्याक टु नाइन्टिज’ शनिबार, ७ वटा ब्यान्ड एउटै मञ्चबाट गुञ्जिने

पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा आउँदो शनिबार ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यही माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नब्बेको दशकमा ब्याण्डहरूको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल ७ वटा ब्याण्डहरूले प्रस्तुति दिनेछन् । कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार कन्दरा (विवेक श्रेष्ठ), डी–मर्चा ब्यान्ड (भास्करध्वज श्रेष्ठ), लेकाली ब्यान्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली ब्यान्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्याण्ड (प्रकाश राना), मध्याह्न ब्यान्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड ब्याण्ड (श्यामसुङ तामाङ) गुञ्जिनेछन् ।
कार्यक्रम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता एवं गण्डकी प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने उनले बताए ।
ब्याण्डहरूको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोसेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई) ले बताए । ‘कुनै बेला पोखरा ब्यान्डहरूको राजधानी थियो । ९० को दशकमा पोखराका ब्यान्डहरूले देश–विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेका थिए,’ उनले भने, ‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान विस्तारै सुस्ताउँदै गयो । तर फेरि एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यही विरासत फर्काउन यो कार्यक्रम गर्न लागेका हौं ।’
सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डहरूको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई ‘संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ’ भन्ने सन्देश दिँदै आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भास्करध्वज श्रेष्ठले बताए । ‘पोखरालाई पर्यटनको राजधानी घोषणा गरिए पनि व्यवहारिक रूपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन योग्य छ भन्ने सन्देश दिनु हो,’ उनले भने, ‘कार्यक्रममार्फत पोखरालाई रिब्रान्डिङ गर्ने, गीत–संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने, निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्ने कार्यक्रमको उद्देश्य हो ।’
कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया–पिरती साट्दाको समयसँग सम्बन्धित गर्न सक्नेछन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले ‘ब्याक टु नाइन्टिज’ कार्यक्रममार्फत विश्वको ध्यान फेरि एकपटक पोखरामा तानिने बताए । उनले भने, ‘नब्बेको दशकमा हुर्किएको समयसँग आफूलाई फर्काएर पुनः प्रेमी–प्रेमिका, श्रीमान–श्रीमतीसँगको माया प्रगाढ बनाउने अवसर यस कार्यक्रमले सिर्जना गर्नेछ । आफ्नो समयबारे आफ्ना सन्तानलाई बताउने अवसर पनि यसले सिर्जना गर्नेछ ।’
कार्यक्रमका प्रचार संयोजक सन्देश श्रेष्ठले पोखराको सांगीतिक आकाश फराकिलो बनाउन कार्यक्रमले सघाउने बताए । ‘यसले पर्यटनको राजधानी पोखराको रिब्रान्डिङ गर्नेछ,’ उनले भने, ‘पर्यटन भनेको प्रकृति, संस्कृति र साहसिक गतिविधिहरूको संयोजन हो । संस्कृति भनेकै गीत–संगीत हो । अर्थात्, गीत–संगीतबिनाको पर्यटन सोच्न सकिन्न । त्यसैले पोखरा पर्यटनको राजधानी हो भने गीत–संगीतलाई सँगै लैजान जरुरी छ ।’ हरेक बेलुका पर्यटकहरू गीत–संगीतमा झुम्मिने गरेकाले उनीहरूलाई आकर्षित गर्न पनि गीत–संगीतको विकास र प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।
कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) को प्रस्तुतिमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य छ भने पोखरा महानगरपालिका प्रवद्र्धकका रूपमा छ ।
….
ब्यान्डका भोकलिस्टहरू भन्छन् : ‘कार्यक्रमलाई लिएर हामी उत्साहित छौं’
‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमलाई लिएर ब्याण्डहरूले आफूहरू उत्साहित रहेको बताएका छन् । ब्याण्डका भोकलिस्टहरूले नब्बेको दशकमा ब्याण्डहरूको राजधानी बनेको पोखराको सांगीतिक विरासत फर्काउन कार्यक्रम कोसेढुंगा सावित हुने बताएका हुन् ।
कन्दरा ब्यान्डका विवेक श्रेष्ठले नब्बेको दशक ब्याण्डहरूको स्वर्णिम काल रहेको बताए । ‘त्यही स्वर्णिम काल फर्काउन यो कार्यक्रम कोशेढुंगा सावित हुनेछ,’ उनले भने । कन्दराले ‘तगारोमा रुमाल राखी’, ‘तिमी पारि’ र ‘लेककी हे माया’ गीतहरू गुञ्जाउनेछ ।
मध्याह्न ब्याण्डका कर्ण दासले कलाकारिताको माध्यमबाट देश र समाजका लागि योगदान दिने प्रयास जारी रहेको बताए । ‘हामी बीचमा अलमलिएका मात्र हौं,’ उनले भने, ‘तर कलाकारिता नै छाडेर हिँडेका छैनौं । निरन्तर लागिरहेका छौं ।’ मध्याह्नले ‘जिन्दगीको के भरोसा’ र ‘मन मनै मन पराई सकेछु’ गीत प्रस्तुत गर्नेछ ।
डी–मर्चा ब्याण्डका भास्करध्वज श्रेष्ठले ‘ब्याण्डहरूको राजधानीको विरासत फर्काएरै छाड्ने’ बताए । ‘हामी हिजो पनि यसैका लागि लाग्यौं, आज पनि गीत–संगीतकै लागि लागिरहेका छौं,’ उनले भने । डी–मर्चाले ‘झ्याम्म झ्याम्म’, ‘कैलाशैमा’, ‘झ्याम्मै चौतारी’ र ‘तारा खस्यौली’ गीत प्रस्तुत गर्नेछ ।
लेकाली ब्यान्डका हर्कराज गुरुङ (भाई) र नवीन गुरुङले आफूहरू कार्यक्रममा प्रस्तुति दिन आतुर रहेको बताए । ‘हामी सबै हिसाबले तयार छौं, आशा छ हामीलाई सुन्न पोखरेली दर्शकहरू पनि आतुर हुनुहुन्छ,’ उनीहरूले भने । लेकालीले ‘यो मुटुमा’, ‘सपनीमा’, ‘कहाँबाट’ र ‘पहिलो नजर’ गीत गुञ्जाउनेछ ।
ब्रोसिस ब्यान्डका प्रकाश रानाले ‘नयाँ सिर्जनामा कमी आए पनि संगीत सिर्जना नछाडेको’ बताए । ‘यो कार्यक्रमले हामीलाई उत्साह भर्नेछ,’ उनले भने । ब्रोसिसले ‘चाइना कम्पनी’ र ‘जादू तिम्रो नजरले’ गीत गुञ्जाउनेछ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया