७ वर्षपछि बन्नेभो गण्डकी प्रदेश सभाको भवन, साढे २५ करोडमा ठेक्का, ३६ महिनामा सकिने


पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको ७ वर्ष पूरा भएको छ । ७ वर्षे अवधिमा प्रदेश सभाले धेरै कानुनी संरचना निर्माण गर्यो । सालबसालीसहित ७२ वटा विधेयक पारित गरेको सभाले आफ्नै नियमावली पनि बनायो । यस अवधिसम्म प्रदेश सभाले प्रदेशको नामकरण र राजधानी तोक्ने महत्वपूर्ण काम गरिसके पनि आफ्नै भवन भने बनाउन सकेको थिएन । प्रदेश सभा तत्कालीन पञ्चायत प्रशिक्षण केन्द्रको नदीपुरस्थित भवनमा चलिरहेको छ ।
प्रदेश सभाले आठौं वार्षिकोत्सव मनाउँदै गरेका बेला भवनको ठेक्का लागेको छ । निर्माण कम्पनीले समयमा काम सक्यो भने अबको ३६ महिनापछि प्रदेश सभाको बैठक नयाँ भवनमा बस्ने छ । भवन सकिँदासम्म प्रदेश सभाको तेस्रो कार्यकालको चुनाव भइसक्ने भएकाले अहिलेका सांसाद नयाँ भवनमा बैठक बस्न भने पाउने छैनन् ।
सहरी विकास तथा भवन कार्यालय कास्कीकी सूचना अधिकारी अमृता ढकालका अनुसार गण्डकी प्रदेश सभाको नयाँ भवन निर्माण गर्न माघ १८ गते ठेक्का लागेको छ । श्रेष्ठ एन्ड सन इस्टवेस्ट जेभीले प्रदेश सभा भवन बनाउने जिम्मा पाएको हो ।
कार्यालयले गत साउनदेखि नै ठेक्का लगाउन पटकपटक सूचना आह्वान गरेको थियो । भवन बनाउन ३५ कम्पनी प्रतिस्पर्धामा उत्रे पनि श्रेष्ठ एन्ड सन इन्टवेस्ट छनोट भएको सूचना अधिकारी ढकालले जानकारी दिइन् । पोखरा विश्वविद्यालयको नयाँ भवन पनि यहि कम्पनीले बनाइरहेको छ ।
‘भवन बनाउन कार्यालयले आह्वान गरेको बोलपत्रमा ३५ कम्पनी प्रतिस्पर्धामा थिए । त्यसमध्ये श्रेष्ठ एन्ड इन्टवेस्ट जेभी कम्पनी छनोट भयो,’ उनले भनिन् । ३६ महिनामा सक्ने गरी उक्त कम्पनीले २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा ठेक्का पाएको उनले सुनाइन् । उक्त रकम मूल्य अभिवृद्धि करसहित होे । भवन बनाउन ४४ करोड ९९ लाख ६० हजार ३ सय ७६ रुपैयाँ लाग्ने डिपिआर तयार थियो । प्रदेश सभाको भवन बनाउनका लागि चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले सवा ९ करोड बजेट बिनियोजन गरेको छ । बहुवर्षे ठेक्का लगाउनका लागि २० प्रतिशत रकम विनियोजन हुनुपर्ने कार्यविधि अनुसार भवन निर्माणको प्रक्रिया थालिएको हो ।
भवनको भुइँ तला १ हजार ८ सय ४६ वर्गमिटर, पहिलो तला १ हजार ४ सय ९६ र दोस्रो तला ७ सय ३९ वर्गमिटर क्षेत्रफलका हुने छन् । हालका संरचनालाई यथावत राख्दै आडैको खाली जग्गामा संसद भवन बनाउन लागिएको हो । यसअघि पनि ठूलै रकम खर्चेर प्रदेश सभा भवनको डिपिआर बनेको थियो । ठेक्का प्रक्रिया भने थालिएको थिएन । तत्कालीन भौतिक पूर्वाधार मन्त्री कुमार खड्काका पालामा १ अर्ब ४६ करोड रुपैयाँ लाग्ने गरी डिपिआर तयार गरिएको थियो । तर उक्त महत्वाकांक्षी योजना अगाडि बढ्न भने सकेन ।
बन्न लागेको संसद भवनको डिजाइन स्केल आर्किटेक्ट कम्पनीले तयार पारेको हो । भवनको भुइँतलामा सभामुख, उपसभामुख, प्रदेशसभा सचिवालय, विषयगत समितिका सभापति र समितिका कार्यालय रहने छन् । पहिलो तलामा करिब १ सय जना अट्ने क्षमता भएको हल निर्माण गरिनेछ भने दोस्रो तलामा पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि प्रदेशसभा बैठक अवलोकन गर्न मिल्ने स्थान बनाइने छ । यहि तलामा पत्रकार सम्मेलन कक्ष र औपचारिक कार्यक्रम गर्न मिल्ने हल बनाइनेछ ।
पञ्चायत प्रशिक्षण केन्द्रको भवनमा बहुदलपछि नगर प्रशिक्षण केन्द्र सञ्चालित थियो । नगर प्रशिक्षणको भवन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४९ साल असोज १ गते उद्घाटन गरेका थिए । बाहिरबाट हेर्दा चिटिक्क देखिए पनि गण्डकी प्रदेश सभाको भवन निकै साँघुरो छ । सञ्चारकर्मीका लागि २० र अरु दर्शकका लागि ३० वटा कुर्सी राखिएको छ ।
स्थानीय प्रशिक्षण प्रतिष्ठानको मातहतको जग्गा र भवनको संरक्षणको जिम्मा संघले २०७६ सालमा प्रदेश सरकारलाई दिएको छ । प्रशिक्षण सञ्चालन गर्ने प्रयोजनका लागि संघबाट अनुमति पाएपछि प्रदेश सरकारले त्यसलाई प्रदेश सभा र गण्डकी प्रशिक्षण प्रतिष्ठानका नाममा भाग लगाउने निर्णय गरेको थियो । १ सय १० रोपनी जग्गामध्ये प्रदेश सभाको भागमा ६५ रोपनी परेको छ । प्रशिक्षण प्रतिष्ठानको सुविधा सम्पन्न भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया