
जोमसोम । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाकाबाट ६ महिनाको अवधिमा १ लाख ९८ हजार राजस्व संकलन भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्म कोरलानाकाबाट उक्त भन्सार राजस्व संकलन भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
कोरोना कहरका कारण लगातार बन्द रहेको कोरलानाका आर्थिक वर्ष २०८०/८१ को २७ कात्तिकदेखि औपचारिक रूपमा बाह्रै महिना खुला गरिएको थियो। त्यसअघि नेपाल—चीन कोरलानाका अन्तरदेशीय व्यापार मेला रूपमा सञ्चालन हुने गर्थ्यो। नेपाल—चीन कूटनीतिक सहमति भएलगत्तै उपल्लो मुस्ताङका नागरिकलाई लक्षित गरी चीन पक्षले कोरलानाका बाह्रै महिना खुला गरेको थियो। तर, कोरलानाका औपचारिक रूपमा खुला भए पनि मुस्ताङ भन्सार कार्यालयअन्तर्गत उपल्लो मुस्ताङमा रहेको नेचुङ भन्सार कार्यालयले अपेक्षाकृत राजस्व संकलन गर्न भने सकेको छैन। भन्सार कार्यालयको पर्याप्त जनशक्ति, भन्सार पूर्वाधार तथा कोरलानाकामा अध्यागमन कार्यालयमा कर्मचारीको अभाव हुँदा चीनबाट आयातित सामानको पर्याप्त राजस्व संकलन गर्न कठिनाइ परेको हो।
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा ४९ हजार ८४९, भदौमा ४० हजार ७५५, असोजमा १ हजार ७४६, कात्तिकमा ३४ हजार ९३४, र पुस महिनामा ७१ हजार ६२९ रुपैयाँ भन्सार राजस्व संकलन गरेको मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख होमबहादुर बिष्टले जानकारी दिए। उनले मंसिर महिनाबाट कोरलानाकाबाट सामान आयात नभएकाले भन्सार राजस्व संकलन शून्य रहेको उल्लेख गरे।
मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट आयात गरिएका विभिन्न प्रकारका सामानबाट ८ लाख ७४ हजार ८६६ रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो। गत आर्थिक वर्षको भन्सार राजस्व तुलना गर्दा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ दशमलव ७९ प्रतिशत मात्रै राजस्व संकलन भएको हो। निमित्त प्रमुख बिष्टले भन्सारका लागि आवश्यक खाद्य क्वारेन्टाइन, पशु क्वारेन्टाइन, पेय पदार्थ क्वारेन्टाइन लगायत विभिन्न सामग्रीका लागि आवश्यक पूर्वाधार नहुँदा राजस्व संकलनमा कानुनी जटिलता उत्पन्न भएको बताए। उनले गर्मी सुरु भएपछि कोरलानाकाबाट सामान आयात हुने भएकाले त्यसबेला थप राजस्व उठ्ने दाबी गरे।
मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट विभिन्न शीर्षकमा भन्सार राजस्व संकलन गर्ने गरेको छ। जसअन्तर्गत एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर, अन्तः शुल्क आयात, भन्सार महसुल आयात, आयातमा लाग्ने अन्य शुल्क महसुल, भन्सारसम्बन्धी अन्य आय, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम, अन्य प्रशासनिक सेवा शुल्क, बेरुजु, र मूल्य अभिवृद्धि कर (मु.अ. कर) आयात लगायतमा राजस्व संकलन हुन्छ।
कोरलानाका उपल्लो मुस्ताङका नागरिकले चीनको सीमाना कोरलाको तिब्बती भूमि लिजी बजारमा पुगेर सामान आयात गर्ने गरेका छन्। तर, नाका खुले पनि नेपाल पक्षबाट कुनै पनि सामान निर्यात गर्दा राजस्व भने हालसम्म संकलन हुन नसकेको निमित्त प्रमुख बिष्टले बताए।
कोरलानाका खुला भएको डेढ वर्ष बितिसक्दा हालसम्म करिब ३ हजारको हाराहारीमा उपल्लो मुस्ताङका नागरिकले कोरला बोर्डर पास लिएका छन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्थानीय तहको सिफारिसमा तल्लो मुस्ताङका आंशिक नागरिकलाई कोरला प्रस्थान अनुमति पत्र (पास) वितरण गरिसकेको छ। नाकाबाट खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक सामान, तिब्बती वास्तुकला सामग्री, कृषि उपकरण, र किराना सामान आयात हुने गरेको पाइन्छ। कोरलानाकाबाट अप्रत्यक्ष रूपमा भेडा—च्यांग्रा समेत आयात हुने गरेको भए पनि भेडा—च्यांग्रा आयातबाट लाग्ने राजस्व संकलन हुन सकेको छैन।


सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया