डिजिटल तथा साइबर सुरक्षा सम्बन्धि तालिम

पाेखरा ।
अपांग महिला सशक्तिकरण केन्द्र कास्कीकाे आयोजनामा शुक्रबार डिजिटल तथा साइबर सुरक्षा सम्बन्धि तालिम भएको छ। प्रविधिको दुरुपयोगका कारण सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण गर्दै सुरक्षित डिजिटल प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममा गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले डिजिटल प्रविधिको असुरक्षित प्रयोगले गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले सचेत भएर प्रयोग गर्नुपर्ने बताइन्। उनले प्रविधिको सही सदुपयोगबाट अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सकिने बताउँदै यस्ता कार्यक्रमहरु आवश्यक रहेको धारणा राखिन्।
केन्द्रका अध्यक्ष अन्जना केसीले सही ज्ञान र उपकरण प्राप्त गर्न सकियो भने अपांगता भएका व्यक्तिले पनि डिजिटल माध्यमबाट आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्ने बताइन् । अपांगता भएका व्यक्तिहरुले इन्टरनेटको सुरक्षित र प्रभावकारी प्रयोग गरि प्रविधिमा सहज पहुँच पुग्न सकेमा उनीहरु अन्य व्यक्तिहरुसँग प्रतिस्पर्धा गर्न सक्ने उनकाे भनाइ छ ।
स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण अझै पनि चुनौतीपूर्ण रहेको उल्लेख गरे। उनले अपांगता भएका व्यक्तिप्रति हाँसीमजाक गर्ने तथा तिनलाई कमजाेर साेच्ने मानसिकता हटाउनु जरुरी रहेको बताए। प्रविधिको प्रभावकारी प्रयोगले अपांगता भएका व्यक्तिलाई अवसरको पहुँचमा पुर्याइ उनीहरुको आत्मसम्मान अभिवृद्धि गर्न सकिने उनको भनाइ थियो।
तालिमको सहजीकरण दलित अभियन्ता अनिसा विकले गरेकी थिइन्। उनले डिजिटल माध्यमको सुरक्षित प्रयोग, साइबर सुरक्षाका उपायहरु, गोपनीयता जोगाउने विधि, सामाजिक सञ्जालको सही प्रयोग, तथा अनलाइन जोखिम न्यूनीकरणबारे विस्तृत जानकारी दिइन्।
कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक सरिता केसीसहित विभिन्न क्षेत्रका महिलाहरुकाे उपस्थिति थियो। सहभागीहरुले तालिम उपयोगी भएको प्रतिक्रिया दिँदै आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्नुपर्ने माग गरेका छन्।
तालिमले विशेष गरी अपांगता भएका महिलाहरुलाई लक्षित गर्दै प्रविधिमैत्री बनाउने, उनीहरुलाई अनलाइन अवसरहरुसँग जोड्ने तथा आत्मनिर्भर जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ। डिजिटल युगमा सुरक्षित इन्टरनेट प्रयोग, अनलाइन ठगीबाट जोगिने उपाय, साइबर सुरक्षासम्बन्धी कानुनी पक्ष तथा प्रविधिको सकारात्मक उपयोगबारे जानकारी प्रदान गरिएको थियो।
तपाईको प्रतिक्रिया