प्रदेश सरकारको लगानीमा गण्डकीमा बने १०४ सडक पुल

समाधान संवाददाता २०८१ माघ २५ गते १९:४५

गण्डकी । गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १ सय ४ सडक पुल र ८४ वटा झोलुंगे पुल निर्माण भएका छन् । प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलका अनुसार सडक पुल र झोलुंगे पुल निर्माण प्रदेश सरकारको प्रमुख हस्तक्षेपकारी कार्यक्रम हो ।

Advertisement


हाल ६५ वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेको र २५ वटा सडक पुलको विस्तृत आयोजना प्रतिवेदनको तयारीको प्रक्रियामा रहेको मन्त्रालयको योजना अनुगमन, मूल्यांकन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख डा महेन्द्र बानियाँले जानकारी दिए । प्रदेशका विभिन्न स्थानमा गरी थप १७ वटा झोलुंगे पुल निर्माणका लागि पूर्वाधार तयारीको काम अगाडि बढेको छ । प्रादेशिक सडक गुरुयोजना निर्माणमा जुटेको मन्त्रालायले सडक र पुल आयोजनामा लगानी बढाउँदै लगेको छ ।

प्रदेश सरकारले सबै स्थानीय तहसम्म सडक सञ्जाल पु¥याउने लक्ष्यका साथ सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको महाशाखा प्रमुख डा बानियाँले बताए । ‘एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम’अन्तर्गत ३६ सडक आयोजना सञ्चालनमा रहेको उनको भनाइ छ । ती आयोजनाको कुल लम्बाई ६ सय ७१ किमि रहेकामा हालसम्म २ सय किमि सम्पन्न भएको र २ सय ३१ किमि सडक स्तरोन्नतिका क्रममा रहेको जनाइएको छ ।

स्थानीय तहका केन्द्र जोड्ने कुल ६ सय ७ किमि रहेकामा हालसम्म २ सय १९ किमि सम्पन्न भई २ सय १६ किमि सडक स्तरोन्नति भइरहेको छ । प्रदेश स्थापना भएयता सात वर्षमा कूल ९ सय २३ किमि कालोपत्र÷ढलान र ७ सय किमि सडक ग्राभेल भएको छ । सडक र पुल निर्माणले सहज आवातजावत, कृषि उपजको बजारीकरण, पर्यटन प्रवद्र्धन आदिका लागि मद्दत पु¥याएको छ ।

मन्त्रालयले राष्ट्रिय राजमार्गका वैकल्पिक सडक, एक निर्वाचन क्षेत्र–एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडकलाई गौरवका आयोजनाका रूपमा अगाडि बढाएको छ । सडकको पहुँच पुगेपनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएकामा पछिल्लो समय उक्त समस्या कम हुँदै गएको छ ।

Advertisement

पुल निर्माणले गति लिन थालेपछि प्रदेश स्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिएको हो । मन्त्रालयले पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराउन थालेपछि निर्माणको क्रममा रहेका पुलको कामले पनि गति लिएको छ । महाशाखा प्रमुख डा बानियाँले निर्माणाधीन अवस्थामा रहेकामध्ये ३५ सडक पुल बहुवर्षीयमा आयोजनामा समेटिएको जानकारी दिए ।

जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत सडक पुल र झोलुंगे पुलका आयोजना कार्यान्वयन हुँदै आएको उनको भनाइ छ । बहुवर्षीय आयोजनाअन्तर्गत गत आवदेखि कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच/पाँचवटा, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई÷दुईवटा र मनाङमा एकवटा सडक पुल निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया