अख्तियारमा ८० प्रतिशत उजुरी आधारविहीन, दुख दिने नियतले प्रमाण नै नपुग्नेमा पनि बेनामे उजुरी

पोखरा । अख्तियारमा बेनामे उजुरी परेकै भरमा कुनै पनि व्यक्ति वा संस्थामाथि मुद्दा चल्छ ? चल्दैन । तर अख्तियार दुरुपयोग अनुसन्धानमा आउने उजुरी धेरैजसो बेनामे नै हुन्छन् । अति दुख दिने नियतले पनि हालिदिएका उजुरी हुन्छन् । त्यसैले नै आयोगमा परेकामध्ये ८० प्रतिशत उजुरी तामेलीमा पर्छन् । प्रमाण नै नपुग्ने र आधार नै नभेटिने गरी हालिएका बेनामे उजुरीकै चाङ अख्तियार लाग्छ ।
अख्तियारको पोखरा कार्यालयका सूचना अधिकारी राकेश पाण्डे शुक्रबार सामाजिक अभियन्ताहरुका लागि भ्रष्टाचार विरुद्ध अभिमुखीकरण कार्यक्रममा बेनामे उजुरीको प्रसंग पनि उप्काउँदै थिए । पाण्डेले उजुरी पर्ने बित्तिकै कोही कसैमाथि पनि मुद्दा नचल्ने बताए । ‘उजुरीमा कम्तीमा ६ तथ्य हुनुपर्छ । जब ती तथ्य पुग्छन् । अनि, मात्र अनुसन्धान अघि बढ्छ नत्र उजुरी अगाडि बढ्दैन,’ उनले भने ।

पाण्डेले गत वर्ष कार्यालयमा दर्ता भएकामध्ये ८० प्रतिशत उजुरी तामेलीमा राखिएको सुनाए । उजुरी तामेलीमा पर्नु भनेको स्थगन जस्तै हो । ‘उजुरी पर्नेबित्तिकै अनुसन्धान भइहाल्ने हुँदैन । सत्य त हुनुपर्यो । कम्तीमा कुन विषयमा उजुरी दिँदैछु । त्यो थाहा हुनुपर्छ । कुन आर्थिक वर्षमा अनियमितता भएको हो ? कुन निकायले कार्यान्वयन गरेको हो ? कसरी कार्यान्वयन हुनुपर्थ्यो, कसरी भइरहेको छ ? किन अख्तियार आकर्षण हुने ? जस्ता प्रश्नसहितको उत्तर बुझेर परेका उजुरी अगाडि बढ्छन्,’ सूचना अधिकारी पाण्डेले भने । उनले प्रमाण नपुग्ने र हचुवाका भरमा परेका उजुरी तामेलीमा पर्ने गरेको सुनाए । ‘तामेलीमा राखिएका ८० प्रतिशत, लेखी पठाउने १० प्रतिशत हुन्छन्, अभियोग दर्ता भएर मुद्दा दर्ता हुने भनेको १० प्रतिशतमात्र हुन्छन्,’ उनले भने ।

उनले प्रमाण पुर्याएर अख्तियारमा जुनसुकै माध्यमबाट भएपनि उजुरी दर्ता गर्न सकिने बताए । ‘हाम्रो वेबसाइट पनि छ । फेसबुक, ट्विटर वा याक्स, अनलाइन, फोन गरेर जुनसुकै माध्यमबाट पनि उजुरी टिपाइदिनुहुन अनुरोध गर्दछौं,’ उनले भने ।
अख्तियार कार्यालय पोखरामा यो आर्थिक वर्षमा नयाँ ८ सय ८ वटा उजुरी दर्ता भएका छन् । अख्तियारमा गत वर्ष फर्स्यौट हुन नसकेका १ स ६१ वटा उजुरी सरेर आएका छन् । अघिल्लो वर्ष सरेर आएका र यो वर्ष गरेर ४ सय ८८ वटा मुद्दा फर्स्यौट भएका सूचना अधिकारी पाण्डेले बताए । अख्तियारले तामेलीमा राखिएका उजुरीलाई पनि फर्र्स्यौट भएका संख्यामा राख्दै आएको छ । कार्यालयमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी कास्कीमा छन् । कास्कीमा ३ सय २८ वटा उजुरी परेका हुन् । त्यसमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकासँग सम्बन्धित भएको कार्यालय प्रमुख आस्मान तामाङले सुनाए ।
‘पोखरा महानगरपालिकासँग सम्बन्धित भएर उजुरी सबैभन्दा बढी उजुरी परेका छन् । त्यसमध्ये पनि सार्वजनिक खरिद ऐनसँग जोडिएका विषयमा उजुरी परिरहेको छ,’ उनले भने, ‘ढुंगा गिट्टी, उपभोक्ता समिति, जिन्सी दाखिला सार्वजनिक जग्गा अतिक्रमण लगायतमा भ्रष्टाचार भएको भन्दै उजुरी परिरहेको छ । हुन त हामीहरु हाम्रो काम प्रचार गर्दैनौं । तर, अख्तियारले आफ्नो काम गरिरहेको छ ।’ उनले अख्तियारको अरु प्रोसेस लामो भएपनि स्ट्रिङ अप्रेसनको हकमा १०/१५ मिनेटमा गर्ने गरेको उनले सुनाए । ‘आउनुस् । तपाईंको अगाडि भएका बेतिथि लिएर आउनुस् । निष्पक्ष भएर काम गर्छौैं । यहाँ परेका उजुरी केन्द्रमा पनि पुग्छ । केन्द्रबाटै आयुक्त आएर यहाँका मुद्दाहरु हेर्नुहुन्छ,’ उनले भने ।

नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलले सरकारी निकायमा भत्ता खाने परम्परा मौलाउँदै गएको सुनाए । ‘बेथिति त हरेक क्षेत्रमा छ । संघसंस्थाहरु च्याउ झै उम्रिएका छन् । ती सबैलाई गलत काम नगर्न हामी सबैले खबरदारी गर्न उजुरी गर्न जरुरत छ,’ पौडेलले भने ।
तपाईको प्रतिक्रिया