र्यान्डम रिडर्स सोसाइटीमा वैदेशिक रोजगारीको प्रभावबारे चर्चा

पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम गरेको हो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीकै कोषाध्यक्ष ध्रुव केसीले ‘वैदेशिक रोजगारी : आर्थिक समृद्धि र सामाजिक संकटका अन्तर्कथा’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारीको क्षणिक प्रलोभनका कारण नेपालका गाउँमात्र होइन, सहरसमेत रित्तिँदै गएको बताउँदै केसीले यसतर्फ राज्यले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए ।
‘बाध्यतामा विदेश जानेको कथा बेग्लै होला’, केसीले भने, ‘यहाँ त अधिकांश धनाढ्यका सन्तान विदेशमा छन् ।’ उनले रेमिट्यान्समा रमाउने राज्यसत्ता रहेसम्म आर्थिक समृद्धि सम्भव नहुने धारणा राखे । वैदेशिक रोजगारीका कारण आर्थिक रूपमा केही आर्जन भएको देखिए पनि सामाजिक विखण्डनको डरलाग्दो तथ्यांक रहेको जनाउँदै उनले यसतर्फ सबै सचेत हुनुपर्नेतर्फ ध्यानाकर्षण गराए ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागकी प्रमुख डा कौशिला रिसालले प्रज्ञा–प्रतिष्ठान वा र्यान्डम रिडर्स सोसाइटी जस्ता संस्थाले यस्ता विषयमा बौद्धिक बहस गर्दै जाँदा नीतिगत तहमा कुरा पुग्ने बताइन् । उनले समाजलाई अग्र गति दिनका लागि सामाजिक विषयमा स्वस्थ बहस गर्नुपर्ने धारणा राखिन् । वैदेशिक रोजगारीतर्फ नभई नेपालमै भएका सम्भावनातर्फ युवाहरूलाई आकर्षण गर्नुपर्ने बताउँदै उनले काम सानो ठूलो नहुने भएकाले सबै कामलाई सम्मान गर्ने वातावरण तयार भएमा विदेश लखेटिने वातावरण ह्रास आउने बताइन् ।
कार्यक्रममा दीपक अधिकारी, प्रकाश रिजाल, धर्मेश जयसवाल, सुदीप घिमिरे, राजेन्द्र पौडेल, दुर्गाबहादुर शाह ‘बाबा’, अनुराग अधिकारी, भरतमणि भट्टराई, नवराज आचार्य, सचिव नेपालप्रकाश अधिकारी। उपाध्यक्ष गौरी तमु लगायतले वैदेशिक रोजगारीका अनुभव र सोसम्बन्धी धारणा राखेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमा परिचर्चा गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया