कचहरीमा खेलकुद प्रशासनमाथि चर्चा
खेल क्षेत्रका महासंघमा २४ प्रतिशतमात्र पारदर्शिता

पोखरा । खेलकुदले तन्दुरुस्त मात्र बनाउँदै अनुशासित हुन पनि सिकाउँछ । जतिबेलादेखि खेल्न सुरु भयो यसको सम्बन्ध अनुशासनसँगै जोडियो । अनुशासन सिकाउन खेलजगत आफै अनुशासित छ त ? विभिन्न अनुसन्धान र स्वतन्त्र विश्लेषकहरुको एउटै निष्कर्ष खेलजगत अनुशासित हुन सकेको छैन । नेपालमात्र होइन यो अरु देशमा पनि यो समस्या छ । खेल व्यवस्थापनमा विद्यावारिधि गरेका गण्डकी विश्वविद्यालयका उपप्राध्यापक डा. मधुसूदन सुवेदी भन्छन्, ‘नेपालका खेल संस्थाहरुमा पारदर्शिता निकै कम छ, जसका कारण उनीहरुप्रति विश्वास गुम्दै गएको छ ।’
पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहतको समाज विज्ञान केन्द्रले गर्ने मासिक ‘कचहरी’मा शनिबार डा. सुवेदीले आफूले गरेको अनुसन्धानको निचोड प्रस्तुत गरे । उनले नेपालका खेलकुदका विभिन्न ७ महासंघलाई आधार मानेर तिनीहरुको पारदर्शिता र जिम्मेवारी वहनको अवस्थाका बारेमा अनुसन्धान गरेका थिए । कहरीको शीर्षक थियो, ‘नेपालमा खेलकुद प्रशासनः सुधारका आवश्यकता र भविष्यको दिशा’ । डा. सुवेदीको अनुसन्धानको निचोड भन्छ, खेल क्षेत्रका ती महासंघहरु आफ्ना आन्तरिक गतिविधि बाहिर ल्याउनै चाहँदैनन् । उनीहरुमा जम्मा २४ प्रतिशतमात्र पारदर्शिता छ । जुन निकै कमजोर हो ।

निर्वाचन प्रणाली र बैठक सञ्चालन प्रक्रिया भने सन्तोषजनक नै देखिएको अनुसन्धाता डा. सुवेदीले बताए । जवाफदेहिता र सामाजिक उत्तरदायित्वमा समेत उनीहरु निकै कमजोर देखिएका छन् । डेनमार्कमा प्रयोग हुँदै विधि प्रयोग गरेर आफूले अनुसन्धान गरेको उनले सुनाए । उनले भने, ‘पारदर्शिताका लागि डिजिटल प्लेटफर्मको प्रयोग गर्नुपर्ने, तल्लो तहसम्म सरकार र निजी क्षेत्रबाट लगानी बढाउन सकेमात्र नेपालको खेल क्षेत्र उँभो लाग्छ ।’ उनले खेलको विकासका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने र सरकार र खेलकुद निकायबीच समन्वय र सहकार्य आवश्यक देखिएको बताए ।
खेलक्षेत्रसँग धेरै सरोकारवाला जोडिएको हुने भन्दै पछिल्लो समयमा नेपालमा राजनीतिक हस्तक्षेत्रले यो क्षेत्रलाई आक्रान्त पारेको उनको अनुभव छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका डा. सुवेदीले परिषदको सदस्य हुनकै लागि दलका नेताका ढोका चाहर्ने र रकम खर्च गर्ने गरेको पाइएको बताए । नेपालमा १ सय ९० जति खेलकुद संघ दर्ता रहे पनि ५० वटाजति मात्रै क्रियाशील रहेको उनले सुनाए । पछिल्लो समय नेपालमा क्रिकेट र भलिबलमा दर्शक र निजी क्षेत्रको आकर्षण बढे पनि फुटबलमा आकर्षण घट्दो रहेको डा. सुवेदीको भनाइ थियो । नेपालको खेल क्षेत्र सुधारका लागि स्वतन्त्र नियामक निकायको आवश्यकता रहेको उनले औंल्याए ।
कार्यक्रममा भलिबलका पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साल राज्यले खेल र खेलाडीमा सारै नै कम लगानी गरेको भनाइ राखे । बजेट खर्च गर्नकै लागि मात्र सरकारी तबरबाट खेल हुने गरेको भन्दै उनले यो प्रवृत्ति सच्याउन सुझाव दिए ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगरले पुराना कानुनी संरचना अद्यावधिक गर्दै जानुपर्नेमा जोड दिए । खेल र खेलाडीका लागि सरकारले मन खोलेर खर्च गर्नुपर्ने उनको भनाइ थियो । सिर्जना माविका खेलकुद शिक्षक गोपाल थापा नेपालको खेल क्षेत्र जोगाइदिने काम नै विद्यालयहरुले गरेको बताए । कोलकातामा आफूले पढ्ने बेलामा एउटा विद्यालयमा १४ जनासम्म खेल शिक्षक राख्ने गरेको सुनाउँदै पोखराका विद्यालयहरु एकजना राख्न पनि नखोज्ने गरेको उनको अनुभव छ । यति ठूलो सहर पोखरामा एउटामात्र रंगशाला रहे पनि त्यो विद्यालयहरुको पहुँचमा नरहेको थापाले बताए ।
अक्स्फोर्ड स्कुलका खेल शिक्षक अजय गुरुङ विद्यालयहरुले गर्ने वार्षिक खेलकुद कार्यक्रम पनि प्रभावकारी नभएको बताए । रंगशालामा विद्यार्थी लैजान खोज्दा चर्को शुल्कका कारण हच्किनुपरेको अनुभव उनले सुनाए ।
पृथ्वीनारायण क्याम्पस स्वास्थ्य तथा शारीरिक विषयका उपप्राध्यापक दुर्गा पौडेलले क्याम्पस तहका विद्यार्थीमा अहिले खेलतिर आकर्षण नै नभएको बताए । राजनीतिक हस्तक्षेत्रका कारण खेलक्षेत्र अस्तव्यस्त रहेको उनको भनाइ थियो । पत्रकार दीनानाथ बरालले खेलाडी र खेल क्षेत्रको सुधारका लागि नियमानकारी निकाय नै दरिलो हुनुपर्ने बताए ।
कार्यक्रममा पृना क्याम्पसका डा. रामचन्द्र बरालले नेपालको खेल क्षेत्रमा विभागीय टिम सशक्त हुँदा अरु टिम किन कमजोर भएका होलान् भनी प्रश्न गरे । खेलाडीका लागि छुट्याइएको भत्ता र पोषणमै पनि अनियमितता हुने गरेको सुन्नमा आइरहेको उनको भनाइ थियो ।
गण्डकी विश्वविद्यालयमा अर्थशास्त्रका उपप्राध्यापक जुन देश आर्थिकरुपमा सशक्त छ त्यही देशले खेल प्रतियोगिताहरुमा विजयी हुने गरेकाले खेल क्षेत्र अर्थशास्त्रसँग पनि जोडिएको भनाइ राखे । अमेरिका, चीनजस्ता मुलुकले खेलमा प्रशस्त लगानी गरेको र खेल सामग्रीको बिक्रीबाट पनि मनग्गे कमाउने गरेको भनाइ राखे । उक्त अवसरमा फेन्सिङ संघ गण्डकीका अध्यक्ष विजय शाहीले राजनीतिक खिचातानीले नेपालको खेल क्षेत्र अस्तव्यस्त रहेको बताए । त्यही संघका सचिव सन्दिप बरालले सरकार र समाजलाई खेलकुदको महत्व बुझाउन नसकिएको बताए ।
पृना क्याम्पसका उपप्राध्यापक हिमलाल आचार्यले लेकसिटी कलेज मातहतको समाज विज्ञान केन्द्रले थालेको कचहरीबाट आफू प्रभावित भएको बताए । खासै बहसमा नआएको विषयका बारेमा केन्द्रले चर्चा थालेको भन्दै उनले प्रशंसा गरे । खेलक्षेत्रमा व्याप्त विकृति अन्त्य गर्न सबै पक्षको सहकार्य जरुरी रहेको उनको भनाइ थियो । कार्यक्रममा सबैभन्दा पहिला आउनेलाई प्रमुख अतिथि बनाउने नियम अनुसार आचार्यले उक्त भूमिका निभाउँदै कचहरी अन्त्य गरेका थिए ।

तपाईको प्रतिक्रिया