अपांगता भएका व्यक्तिलाई तरकारी खेती तालिम, औजार वितरण

समाधान संवाददाता २०८१ माघ २७ गते ६:४०

स्याङ्जा । अपांगता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेतीसम्बन्धी २ दिने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग, कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा स्याङ्जा अपांग समाजको आयोजनामा तालिम भएको हो ।

Advertisement

कार्यक्रममा विभिन्न क्षेत्रका २३ जना अपांगता भएका व्यक्तिहरुलाई तालिम समापन पश्चात् कृषिऔजार, बीउ र आवश्यक अन्य सामग्री वितरण गरिएको थियो

तालिमको उदघाटनमा पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले अपांगता भएका व्यक्तिहरुको लागि यस्ता सिप मूलक कार्यक्रम गर्दै  विभिन्न क्षेत्रको क्षमता विकासमा समेत ध्यान दिनु पर्नेमा जोड दिइन् । उनले स्थानीय तहले माथिल्लो तहका सरकार, सम्बन्धित संघसंस्थासँग सहकार्य गरेर अपांगता भएका व्यक्तिको क्षमता विकास र हकअधिकार स्थापित गर्न लागि परेको बताइन् । सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले कृषि प्रधान देशमा अपांगता भएका व्यक्तिहरुको लागि जिविकोपार्जनको लागि यस किसिमको कार्यक्रम अनुकरणीय रहेको र सिकेको सिपलाई जीवन उपयोगी बनाउँदै कृषिको विविधिकरण, व्यावसायीकरण र आधुनिकरणमा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकास विक , प्राविधिक सहायक विनिता शर्मा र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशिक्षार्थी  विद्यार्थीहरुले तरकारी खेतीसँग सम्बन्धित विविध क्षेत्रमा   सहजीकरण गरेका थिए ।

अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीले समुदायमा सरल र सहज ढंगबाट अपांगता भएका व्यक्तिहरुले जीवनयापन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया